Saturday, June 9, 2012

निर्यात बढेपछि नेरु–भारु स्थायी विनिमयदर परिवर्तन

जनार्दन बराल
 जेठ २५, काठमाडौं । डलरको तुलनामा नेपाली रुपैयाँ ऐतिहासिक रूपमा कमजोर भएपछि भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरमा पुनर्विचार गर्नुपर्ने आवाज उठ्न थालेको छ । भारतीय  रुपैयाँसँगको स्थिर विनिमयदर (पेग)का कारण भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि स्वतः कमजोर बन्ने गर्छ । यस्तो अवस्थामा नेपाली रुपैयाँको भारुसँगको ‘पेग’ प्रणाली हटाउनेभन्दा पनि पुनर्मूल्याङ्कन गर्नु उपयुक्त हुने विज्ञहरू बताउँछन् ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पृथ्वीराज लिगल भन्छन्, ‘भारु–नेरुको विनिमयदर १≠१.६० कायम रहेको २० वर्ष हुन लागिसकेको सन्दर्भमा यस विषयमा पुनर्विचार गर्नुपर्ने बेला भएको छ ।’ सन् १९९३ देखि नेरु र भारुबीच विनिमयदर स्थिर राखिएको छ ।

विनिमयदर लामो समयसम्म स्थिर रहँदा नेपालमा भारु अभाव हुने, एटीएम कार्डबाट भारु पलायन हुने तथा बढी मूल्य तिरेर भारु किन्नुपर्नेजस्ता समस्या देखा परेको लिगलले बताए । उनले भने, ‘नेपालको औपचारिक र अनौपचारिक दुवै रूपमा सबैभन्दा धेरै व्यापार भारतसँग हुने हुनाले पनि समस्या सृजना भएको हो ।’ उनी थप्छन्, ‘१ अमेरिकी डलरबराबर ७० रुपैयाँ विनिमयदर हुँदा पनि ९० रुपैयाँ हुँदा पनि भारुसँगको विनिमयदर भने १ बराबर १ रुपैयाँ ६० पैसा रहनु उपयुक्त छैन ।’ यसले गर्दा भारतीय सामानको मूल्य कम भएको छ । ‘यो भारतबाट आयात हुने सामानलाई नेपालले अनुदान दिएसरह हो’, लिगलको तर्क छ । ‘तर पनि विनिमयदरको पुनर्मूल्याङ्कन गर्ने कार्य अति नै जटिल भएको र यसलाई धेरै तŒवले प्रभाव पार्ने भएकाले यसै गर्नुपर्छ भन्नचाहिँ सक्दिनँ’, उनले भने, ‘त्यसका लागि बृहत् अनुसन्धान हुनु जरुरी भइसकेको छ ।’

भारतीय रुपैयाँसँग पेग प्रणाली हटाउनुपर्ने पक्षमा आफु नभएको लिगलले बताए । ‘तर, पेग भन्नेबित्तिकै त्यो स्थिर नै हुनुपर्छ भन्ने छैन । हामी लचक पेग प्रणालीमा जान सक्छौं’, उनले भने । वास्तविक विनिमयदर २ प्रतिशतसम्म तलमाथि भए पुरानैलाई कायम राख्ने, त्यसभन्दा बढी भयो भने अर्को दर कायम गर्ने गरी पेगिङ गर्न सकिने उनको सुझाव छ ।

नेपाल–भारतको स्थिर विनिमयदरका विषयमा साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भाएरोन्मेण्ट (सावती)ले एउटा अनुसन्धान गरेको थियो । त्यो अनुसन्धानको प्रतिवेदनले समेत नेरु–भारुबीचको विनिमयदरको पुनर्मूल्याङ्कन हुनुपर्ने बताएको छ । तर, देशको निर्यात क्षमता वृद्धि नगरी नेरुको अवमूल्यन गरियो भने त्यसले देशलाई नाफाभन्दा बढी घाटा हुने तर्फ पनि सो प्रतिवेदनले सचेत गराएको छ । प्रतिवेदनमा भनिएको छ, ‘अहिल्यै ठूलो व्यापारघाटा कायम रहेको अवस्थामा नेरुको अवमूल्यनले त्यसलाई थप बढाउन सक्छ ।’ पहिले नेपालको औद्योगिक उत्पादन बढाउन र देशलाई निर्यातमुखी बनाउन सक्ने हो भने मुद्राको अवमूल्यनले देशको अर्थतन्त्रलाई ठूलो टेवा दिने प्रतिवेदनले बताएको छ ।

‘वर्तमान राजनीतिक अस्थिरता अन्त्य हुने र देशमा विद्यमान विद्युत् सङ्कट अन्त्य हुने अवस्थामा भने नेरूको अवमूल्यन गर्नु उपयुक्त हुन्छ,’ प्रतिवेदनमा उल्लेख छ । नेपाली मुद्रा कमजोर हुँदा नेपालमा उत्पादित सामाग्री अन्तरराष्ट्रिय बजारमा सस्तो हुन गई नेपाली निर्यात क्षमता बढ्छ । आईएमएफको नेपाल कण्ट्री रिपोर्ट २०११ ले पनि नेपाली मुद्राको अधिमूल्यन भइरहेकोले भारूसँगको पेग समायोजन गर्नु पर्ने उल्लेख गरेको छ । तत्कालका लागि भने भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई कायमै राख्ने नेपालको प्रमुख प्राथमिकता भएको कुरा पनि सो रिपोर्टमा उल्लेख छ । ‘यो प्रणालीलाई छोड्ने हो भने बैङ्किङ क्षेत्र कमजोर हुने बचत तथा पूँजी पलायन हुन सक्ने जस्ता अनिश्चितताहरू देखा पर्न सक्नेछन्’, प्रतिवेदनमा भनिएको छ ।

तर, निरन्तर र व्यापक तरलता प्रवाहले उत्पन्न .गर्ने मुद्रास्फीतिको सम्भावना नियन्त्रण गर्न नेपालले पर्याप्त कदम नचाल्ने गरेको उल्लेख गर्दै प्रतिवेदनले यही प्रवृत्ति रहिरहे पेगिङलाई पनि अडाइराख्न नसकिने बताएको छ । त्यस्तै, यदि विदेशी मुद्रा सञ्चय ठूलो मात्रामा घट्यो भने पनि पेगिङमा समस्या पर्ने प्रतिवेदनमा उल्लेख छ ।

लामो समयदेखि नेरू र भारूबीच कायम रहेको पेग प्रणालीमा पुर्न विचार गर्नु पर्ने अर्थशास्त्री प्रा डा मदन दाहाल पनि बताउँछन् । तर, त्यसका लागि वर्तमान  अवस्था उपयुक्त नभएको दाहालको तर्क छ । स्वदेशी अर्थतन्त्रमा सुधार ल्याएर निर्यात वृद्धि हुन थालेपछि मात्र विनिमयदरमा परिवर्तन र्गर्नु पर्ने उनको भनाइ छ । ‘कुल वैदेशिक व्यापारको करीब ६७ प्रतिशत भारत केन्द्रित रहेको अवस्थामा अहिले स्थिर विनिमयदरमा परिवर्तन गर्न खोज्नु उचित होइन,’ दाहालले
भने ।

अर्थशास्त्री डा. चिरञ्जीवी नेपाल पनि दाहालको भनाइसँग सहमत छन् । भारतको तुलनामा नेपालको अर्थतन्त्र निकै कमजोर रहेकाले आन्तरिक अर्थतन्त्रमा उल्लेख्य सुधार नल्याएसम्म स्थिर विनिमयदर नै कायम राख्नु पर्ने नेपालको भनाइ छ । पछिल्लो समयमा भारतीय अर्थतन्त्र घट्दो अवस्थामा देखिए पनि नेपालको तुलनामा धेरै बलियो नै रहेकाले अहिल्यै विनिमयदरमा परिवर्तन गर्न नहुने उनले बताए । ‘अहिले नेपालको अर्थतन्त्रमा खासै सुधार आउन नसकेको तर भारतको आर्थिक वृद्धिदर नेपालको तुलनामा करीब दोब्बर नै रहेको छ, यस्तो अवस्थामा विनिमय दरमा परिवर्तन गर्दा नेपाललाई ठूलो नोक्सान हुने देखिन्छ,’ नेपालले भने ।

नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर डा. तीलक रावल पनि तत्कालका लागि नेपाली मुद्राको विनिमयदरलाई चलाउन नहुने तर्क गर्छन् । उनी भन्छन्, ‘अहिले हामीले ठूलो मात्रामा आयात गरिरेहको अवस्थामा नेरूको अवमूल्यन गर्‍यौ भने त्यसले मूल्यवृद्धि बढ्नेछ ।’ हाम्रो निर्यात राम्रो बन्यो र मूल्यकै कारण अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकेन भने त्यस्तो अवस्थामा चाहिँ मुद्राको अवमूल्यन गर्नु पर्ने उनको धारणा उनको छ ।

अहिले नेपालको शोधनान्तर बचत अनपेक्षित रूपले बढे पनि व्यापार घाटा नघटेकाले विनिमय दरमा परिवर्तन गर्दा नेपाललाई नै बढी नोक्सान हुने अर्का एक वरिष्ठ अर्थशास्त्रीले बताए । ‘नेपालमा अहिले विपे्रषणको वृद्धिदर २०–२५ प्रतिशतले बढेकाले शोधनान्तर बचत हालसम्मकै उच्च भएको हा,े ’ उनले भने ‘विप्रेषणको वृद्धिदर स्थिर नहुने भएकाले यो दर घट्नासाथ शोधनान्तरमा पनि नकारात्मक असर पर्छ ।’ वर्तमान अवस्थामा अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दै गएकाले (डलरको मूल्य बढेकाले अहिलेको स्थिर विनियम दरमै नेपाललाई फाइदा पुग्ने उनको भनाइ छ ।


नेरू–भारू विनिमयदरका उतारचढाव




नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनिमयदर सन् १९६० देखि शुरू भएको हो । अहिले कायम १ भारू बराबर १ रुपैयाँ ६० पैसा नेरूको विनिमयदर सन् १९९३ देखि शुरू भएको हो । त्यसअघि सन् १९६० देखि १९६६ सम्म मा पनि यो विनिमयदर केही समयका लागि लागू गरिएको थियो । तर, सन् १९६६ को जुन ६ मा भारतीय रुपैयाँको ५७ दशमलव ५ प्रतिशतले अवमूल्यन गरियो र १ भारू≠१.०१२५ नेरू कायम गरियो । सन् १९६७ डिसेम्बर ८ मा नेपाली रुपैयाँलाई २४ दशमलव ८ प्रतिशतले अवमूल्यन गरी भारू नेरू विनिमयदर १≠१.३५ कायम गरियो । सन् १९७१ डिसेम्बर १७ मा नेपाली रुपैयाँको जर्मन मार्क, जापानी येन र भारतीय रुपैयाँसँग विनिमयदर परिवर्तन गरी डिसेम्बर २२ देखि १ भारू ≠ १ दशमलव ३९ नेरू लागू गरियो । १९८५ को नोभेम्बर ३० मा यो विनिमयदरलाई १ ≠ १.६८ को अनुपातमा परिवर्तन गरियो । सन्, १९९३ फ्रेबुअरी १२ देखि अहिलेको विनिमयदर कायम गरिएको हो ।

No comments:

Post a Comment