असार ४, काठमाडौं । बैङ्क तथा वित्तीय संस्थामा तरलता अधिक भएपछि निक्षेपकर्तालाई नेपाली बैङ्कहरूले दिने ब्याजदर नकारात्मक हुने सङ्केत देखिन थालेको छ । मूल्यवृद्धि दरभन्दा बैङ्कहरूले एकवर्षे मुद्दती निक्षेपमा दिने ब्याजदर कम भयो भने त्यसलाई ‘नकारात्मक ब्याजदर’ भनिन्छ । अहिले केही नेपाली बैङ्कहरूले एकवर्षे मुद्दती निक्षेपमा दिने ब्याजदरलाई न्यूनतम साढे ३ प्रतिशतसम्म झारेका छन् भने औसतमा यस्तो ब्याजदर ७ देखि ७ दशमलव ५ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैङ्कको चैतमसान्तको तथ्याङ्कअनुसार हाल मूल्यवृद्धि दर साढे ७ प्रतिशत छ । ‘यसरी बैङ्क तथा वित्तीय संस्थाले दिने ब्याजदर मूल्यवृद्धि दरभन्दा तल झर्नुले अर्थतन्त्रमा नकारात्मक सङ्केत गर्ने नेपाल बैङ्कर्स सङ्घका पूर्वअध्यक्ष सशीन जोशी बताउँछन् । उनी भन्छन्, ‘यसरी देशमा ब्याजदर घट्दा बचत पलायन हुने सम्भावना हुन्छ ।’ मुद्दती निक्षेप तर्फको ब्याजदर अझै घट्ने क्रममा रहेको सङ्घका अध्यक्ष अशोक राणाले बताए । एकवर्षे मुद्दती निक्षेपको ब्याजदर सामान्यतया मूल्यवृद्धि दरभन्दा २ प्रतिशत माथि हुनुपर्ने मान्यता छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. युवराज खतिवडा अहिलेसम्म ब्याजदर नकारात्मक भइनसकेको बताउँछन् । तर, ब्याजदर नकारात्मक बत्रसक्ने र बचत पलायन हुन सक्ने तर्फ आफु हरू सचेत रहेको उनको भनाइ छ । यद्यपि, कर्जाको ब्याजदर तुलनात्मक रूपमा कम घटेकाले बैङ्कहरूको ‘स्प्रेड’ केही बढेको उनले बताए । ‘तर, हामी निर्देशित ब्याजदर लागू गराउने पक्षमा भने छैनौं,’ खतिवडाले भने । आगामी मौद्रिक नीतिबाट ‘ब्याजदर करिडोर’लाई कार्यान्वयनमा लैजाने सोच रहेको बताउँदै उनले त्यसपछि स्प्रेडमा देखिएको समस्या पनि समाप्त हुने बताए ।
कर्जामा ब्याजदर धेरै भए पनि निक्षेप तर्फ भने नकारात्मक ब्याजदर देखिएको पूर्वगभर्नर डा. तिलक रावल बताउँछन् । ‘यसो हुँदा भारतसँग सीमा जोडिएको नेपालको निक्षेप बाहिरिने सम्भावना छ,’ रावलले भने । अहिले भारतीय बैङ्कहरूले एकवर्षे मुद्दती निक्षेपमा १० प्रतिशतभन्दा माथि ब्याज दिँदै आएका छन् । केही रकम बढी तिरेपछि भारतमा नेपालीले सजिलै खाता खोल्न सक्दछन् । ‘यस्तो अवस्थामा नेपालबाट निक्षेप पलायन हुन नदिन सचेत बन्नुपर्छ,’
उनले भने ।
सङ्घका अध्यक्ष राणाका अनुसार पुस महीना अघिसम्म सरदर १३ प्रतिशत रहेको एकवर्षे मुद्दती तर्फ को ब्याजदर अहिले सरदर ८ प्रतिशतमा झरेको छ । तर, पुराना र बलिया भनेर चिनिएका बैङ्कहरूले यस्तो ब्याजदर त्यसभन्दा पनि तल ल्याइसकेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपालले एकवर्षे मुद्दती खातामा साढे तीन प्रतिशत मात्रै ब्याज प्रदान गर्छ । राणा प्रमुख कार्यकारी अधिकृत रहेको हिमालयन बैङ्कले तीनमहीनेमा न्यूनतम साढे ४ प्रतिशतदेखि एकवर्षेमा अधिकतम ८ प्रतिशतसम्म ब्याज दिने गरेको छ । जोशी प्रमुख कार्यकारी अधिकृत रहेको एनआईसी बैङ्कले न्यूनतम साढे ३ देखि साढे ७ प्रतिशतसम्म ब्याज दिँदै आएको छ ।
लगानीभन्दा बचत अत्यधिक बढेकाले ब्याजदर घटाउन बैङ्कहरू बाध्य भएको मेगा बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए । उनका अनुसार बजेट समयमै आएमा ब्याजदर तर्फ घट्नेछ । अहिले मेगा बैङ्कले तीनमहीने बचतमा ६ प्रतिशत र एकवर्षे बचतमा ९ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । उनले भने, ‘बजेट आउन ढिलो भएमा ब्याजदर बढ्न सक्छ ।’
नबिल बैङ्कका चीफ इन्भेष्टमेण्ट अफिसर भुवन दाहाल पनि ब्याजदर नकारात्मक बन्दा निक्षेप बाहिरिने स्वीकार्छन् । भारतमा ब्याजदर बढी भएकाले बचतकर्ताहरू उतातिर आकर्षित हुने सम्भावना रहेको उनले बताए । असोज अघिसम्म १० प्रतिशत रहेको नबिल बैङ्कको एकवर्षे मुद्दती निक्षेपको ब्याजदर पटकपटक घटेको छ । ‘जेठ महीनासम्म आइपुग्दा ८ प्रतिशत हुँदै अहिले ७ दशमलव ५ प्रतिशत कायम रहेको छ,’ दाहालले भने । राजनीतिक अस्थिरताले लगानी हुन नसक्दा निक्षेपको ब्याजदर घट्न पुगेको दाहालको तर्क छ ।
सरकारी स्वामित्वको नेपाल बैङ्क लिमिटेडको एकवर्षे मुद्दती निक्षेप तर्फ को ब्याजदर ८ प्रतिशत छ । बैङ्कका जनसम्पर्क अधिकृत अश्विनी पुडासैनीका अनुसार यसअघि बैङ्कले मुद्दती निक्षेपमा ९ दशमलव ५ प्रतिशत ब्याज दिँदैआएको थियो । ‘बजार हेरेर ब्याजदर घटबढ हुन सक्छ,’ उनले भने ।
No comments:
Post a Comment