Sunday, November 15, 2015

प्रधानमन्त्रीलाई आमाको चिठी


प्रधानमन्त्री केपी ओलीज्यूलाई नमस्ते,
मेरी आमा गाउँमा बस्नुहुन्छ । उहाँलाई खास लेखपढ गर्न आउँदैन । रामायण, महाभारत र गुणरत्न मालाका केही सिलोकसम्म पढ्नुभएको छ । लेख्न त फिटिक्कै आउँदैन । तर, सारै अभर परेकाले मलाई यो चिठी लेखाउनुभएको छ । 

चुलो निभ्यो 
पर्धानमन्त्रीज्यू, तपाईंलाई थाहै छ, चाडबाड मुखैमा आ’को छ । तर, मेरो भान्साको आगो त निभ्यो पर्धानमन्त्रीज्यू, चुलो बन्द भो । सिलिन्डरको ग्यास आएपछि दाउरा बाल्न छाडियो, गोबरग्यासको ट्यांकीलाई भकारो बनाइयो । सिलिन्डरको ग्यासमा खाना बनाउने बानी लाग्यो, पाउन्जेल त सजिलै थियो । तर, आज न सिलिन्डरको ग्यास पाइयो, न त दाउरा नै । यस्तो अवस्थामा कसरी पकाएर खाने ? के खाने हो ? कसरी बाँच्ने हो ? उपाय बताइदिनुपर्‍यो । कताकति रेडियोमा नेपालमै तेलको खानी छ, ग्यासको खानी छ भन्ने पनि सुनेको हो । अब यही ग्यास र तेल बनाउने रे भनेको पनि सुनेको हो । यस्तो सुन्न थालेको बीसौँ वर्ष भइसक्यो, कतै खोजियो कि खोजिएन, सरकारले अहिलेसम्म के गर्‍यो कुन्नि, थाहा भएन । अहिले नाकाबन्दी हो कि के बन्दी भएपछि फेरि रेडियोतिर खानी खन्ने कुरा सुन्न थालेको छु । यो त ‘घरमा आगो लागेपछि कुवा खन्न सुरु गरे’जस्तो भएन र पर्धानमन्त्रीज्यू ? 


बिजुली नै बल्दैन हिटरको के कुरा
कहिलेकाहीँ बाल्न हुन्छ भनेर एउटा हिटर किनेर ल्या’थ्यो । बिजुली आए त्यसमा भए पनि खाना पकाउन हुन्थ्यो । बिजुली नै आउँदैन पर्धानमन्त्रीज्यू । बिजुली बाल्न त पाइँदैन, केको हिटर बाल्नु ? पहिले–पहिले त बर्खाभरि बिजुली आउँथ्यो । बत्ती बाल्न पाइन्थ्यो । नजिकै एउटा सानो बिजुलीघर थ्यो, दिउँसो नदिए पनि साँझबिहान बिजुली दिन्थ्यो । केन्द्रको बिजुली आएपछि त्यो पनि बन्द भो । सरकारले कहिले १० हजार मेगावाट, २५ हजार मेगावाट कति हो कति बिजुली निकाल्ने भनेर मन्त्रीहरूले भाषण गरेको सुन्छु । कर्नालीबाट नौ सय मेगावाट निकाल्ने रे, पञ्चेश्वरबाट ६ हजार मेगावाट निकाल्ने रे भनेको सुन्छु । म त्यो मेगावाट भनेको के हो, कति हो था पाउँदिनँ । तर, जतिसुकै बिजुली निस्कोस् वा ननिस्कोस्, त्यसमा पनि मलाई चासो छैन । मेरो घरमा २४ सै घन्टा बिजुली बले मलाई पुग्यो । बिजुलीलाई मेगावाटमा होइन, हामीजस्ता जनताको घरमा कति घन्टा बत्ती बल्छ त्यसमा नाप्न थाल्नुपर्‍यो । कहिलेदेखि बल्ला त मेरो घरमा २४ सै घन्टा बिजुली पर्धानमन्त्रीज्यू ? २४ सै घन्टा बिजुली आए म यो ग्यास चुलो र सिलिन्डर सुनकोसीमा लगेर सेलाइदिन्थेँ, जे पर्ला । 

छोराछोरी सहरबाट नफर्किने भए 
परिवारका सबैजना वर्षको एकपटक दसैँमा भेट हुन्थ्यो । सहरबाट छोराछोरीहरू बर्सिउनी आउँथे । तर, यसपालि हामी आउन नसक्ने भयौँ भनेर फुन गरे । किन त भन्दा तेल नभर गाडी कम चलेका छन् रे, टिकट पाइँदैन रे । अप्ठ्यारो बाटो छ, छतमा बसेर त नआउनी भन्छन् । मटरसाइकलाँ आओ न त भनेको त्यसमा पनि तेल छैन भन्छन् । छोराछोरी नै नआएपछि यसपालिको दसैँ आको नआयैजस्तो भो पर्धानमन्त्रीज्यू । नाकाबन्दी भएर तेल नपाको भन्छन् । तेती जाबो नाकाबन्दी खुलार जनतालाई तेल दिन नसक्ने हो भने तपाईं पर्धानमन्त्रीजस्तो ठूलो मान्छे भको के काम ? फेरि एउटा देशले नाकाबन्दी गर्नेबित्तिकै देशभरि नै तेल नपाउनी गरी बस्न पनि हुन्छ त सरकारले ? एउटाले नदिए अर्को, अर्कोले नदिए अर्को हुने गरी ठाउँठाउँमा मान्छे राख्नुपर्छ कि पर्दैन ? 

खेतीपाती लाउन नसकिने भो 
पर्धामन्त्रीज्यू, हामी गाउँमा बस्ने मान्छे । समस्याको पोको धेरै छ । मंसिर आउन लाग्यो । असारमा जेनतेन अर्मपर्म गरेर धान रोपेको छ, त्यो बाली कसरी उठाउनी भनेर सारै चिन्ता परेको छ । काम गर्नी खेताला पाइन छाड्यो, मान्छे गाउँमा बस्दैनन् । सबै विदेशतिर भासिइसके पर्धानमन्त्रीज्यू † कतिका त खेतबारी नै बाँझै बस्न थालिसके, खेत खोरिया बन्न थाले । यहाँ खेत बाँझै छाडी काम गर्नसक्ने जवानहरू विदेश जान्छन् । खै विदेशमा गएर कति कमाउँछन् कुन्नि तिनले । सुन्छु, १५–२० हजार नेपाली रुपैयाँ कमाइ हुन्छ रे महिनाको । गाउँमै खेतको काम गर्नेले दिनको एक हजारभन्दा बढी लिन्छन् । त्यो हिसाबले त महिनाको ३० हजार त यहीँ कमाइ हुन्छ । यस्तो हुँदा पनि किन बाहिर जान्छन्, घरपरिवार छाडेर ? मैले त बुझ्न सकेको छैन । तपाईं त सहरमा बसेको, जानेबुझेको, देशको पर्धानमन्त्रीजस्तो मान्छे, तपाईंलाई थाहा होला, बुझिदिनुपरो । मान्छेलाई खेतीपाती गर्न लगाउनुपरो । पहिला पहिला ‘उत्तम खेती, मध्यम बेपार, निर्घिणी नोकरी’ भनेको सुन्थेँ । आजभोलि मान्छेहरू किन खेती गर्नै चाहँदैनन्, बुझ्न सकेकी छैन ।

किन विदेशी अन्न खाको ? 
हाम्रा गाउँमा धान, मकै, दाल, गोलभेडा, भान्टा, काउली, आँप, कटहर जस्ता अन्न, तरकारी फलफुल सबै उब्जन्छ । हाम्रो जस्तै नेपालका सबै गाउँमा उब्जन्छ होला, हिमालतिर आलु उब्जन्छ, स्याउ फल्छ । तर, अर्बौंअर्ब रुपैयाँको अन्न, तरकारी विदेशीसँग किन्नुहुन्छ रे पर्धानमन्त्रीज्यू । किन हो ? हाम्रा ढिकुटीका धान नबिकेर मुसाले खाएका छन्, पुतलीले खाएका छन्, तपाईंहरू किन विदेशीको धान चामल किन्नुहुन्छ ? बेपारीलाई किन किन्न लगाउनुहुन्छ ? हाम्रा गाउँमा खेतबारी बाँझै छन्, त्यहाँ अन्न फलफुल नउब्जाएर किन विदेशी खान परेको हो ? विदेशबाट ल्या’को अलि मिठो हुन्छ र हो कि ? मलाई त ताज्जुब लागेको छ पर्धानमन्त्रीज्यू ? यसको उत्तर छ भने पाऊँ है । 

आम्दानी बढ्दैन खर्च मात्रै बढ्छ
बजारमा जे किन्न गए पनि छोइनसक्नु महँगो छ । चामल, दाल, तरकारी, लत्ताकपडा किन्न नसकिने भो भन्छन्, छोराछोरीहरू सहरमा । आम्दानी बढ्दैन । प्राइभेट अफिसले तलब पनि समयमा दिँदैन रे † महँगी भने बढेको बढ्यै छ । वेलावेला अर्थमन्त्री (नाम त उतिसारो था पाउँदिनँ म) ले भाषण गरेको सुन्छु रेडियोमा– विकास गर्छौं, नेपालीको आम्दानी बढाउँछौँ । यति उति अम्रिकी डलर पुर्‍याउँछु भन्छन् । तर, त्यो विकास भनेको कस्तो हुन्छ थाहा पाउनै सकिएन । अर्थमन्त्रीले आम्दानी बढाएर जतिसुकै डलर पुर्‍याऊन्, उतिसारो चासो छैन । तर, एकसरो खान–लाउन पुग्ने गरी आम्दानी कहिले हुन्छ, त्यो पनि थाहा पाउन सकिएन । दिन दुगुना, रात चौगुना बढेको महँगीमा कसरी बाँच्ने हो बताइदिनुपरो पर्धानमन्त्रीज्यू । 

उद्यम गर्न सकिएन
अलिकति बारीमा तरकारी खेती गरेर बजारमा बेच्न मन थ्यो । ८–१० वटा गाई पालेर दूध बेच्न नखोजेको पनि होइन । तर, के गर्नू, बजारसम्म पुग्ने एक त बाटो छैन । त्यसमाथि कहिले बन्द हुन्छ, कहिले हडताल हुन्छ, गाडी चल्दैनन् । बजारमा पुर्‍याउन सकिँदैन । अनि तरकारी कुहिन्छ । दूध फाल्नुपर्छ । साँचेर राख्न पनि नमिल्ने । यहाँ आफ्ना गोठमा दुहेको दूध नास भइरहेको छ । उता सहरमा दूधको भाउ बढेको बढ्यै छ रे † दूध किनेर खान नसकिने भो भन्छन् छोराछोरी । यसो तरकारी उब्जायो, दूध बनायो, बेच्न पाइँदैन । अन्नपात भकारीमै मुसाले खान्छ । आम्दानीको अर्को स्रोत छैन । कसरी खाने हो ? काम गरेर खान पनि नपाइने भो । हामीलाई अरू धेरै केही गरिदिनू पर्दैन पर्धानमन्त्रीज्यू, काम गरेर खान पाउने बेवस्था गरिदिनुपरो । शान्तसँग बस्ने अवस्था बनाइदिनुपरो ।

अन्त्यमा… 
आफू त गाउँको मान्छे, धेरै कुरा जान्दिनँ । सरकारले धेरै काम गरिदेओस् भन्ने आशा पनि छैन । तर, सानासाना कुराले जीवन धान्न गाह्रो भइरहेको छ । तिनै साना कुरा हेरिदिनुपरो पर्धानमन्त्रीज्यू । एक सिलिन्डर ग्यास पाऊँ, बिजुलीबत्ती बाल्न पाऊँ, चुलो ननिभोस्, खेती गर्न सजिलो होस्, मलखाद किन्न पाऊँ, उब्जेको कुरा बेच्न पाउँm । अरू ठूलो आश पनि छैन । यी सानासाना कुरा पाएदेखि आनन्दले जिउन सकिन्थ्यो । तर, तपाईंलाई देश बनाउनु छ, विकास गर्नु छ, ठूला ठूला काम गर्नु छ । अलिकति समय निकालेर मेरा साना कुरामा ध्यान दिनुभए आभारी हुने थिएँ ।
२०७२ असोज ३० को नयाँ पत्रिकाबाट
http://www.enayapatrika.com/2015/10/33991#sthash.JnWtfs1x.dpuf

No comments:

Post a Comment