दैनिक घाटा पौने सात करोड
वैशाख ७, काठमाडौं । विगत २ हप्तादेखि राजधानी र त्यसभन्दा पनि निकै लामो समयदेखि उपत्यकाबाहिरका विभित्र क्षेत्रमा भइरहेको बन्दका समयमा बैङ्किङ गतिविधि ९० प्रतिशत कम भएको बैङ्करहरूले बताएका छन् । नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष अशोकशमशेर राणाले भने, ‘अहिले यस क्षेत्रको काम लगभग ठप्प नै छ । समग्रमा १० प्रतिशतमात्रै काम भएको रहेछ भने पनि त्यो धेरै हो ।’ एक दिनको बन्दका कारण बैङ्किङ क्षेत्रमा यति नै नोक्सान हुन्छ भत्रे गणना नगरिएको उनले बताए । सङ्घका पूर्वअध्यक्ष तथा एनआईसी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सशीन जोशी पनि यस बेला मुश्किलले १०/१५ प्रतिशत व्यवसाय भएको बताउँछन् ।
‘बन्दका कारण बैङ्कहरूमा तत्कालीन रूपमा जति असर पर्छ, त्यसको निकै गुणा बढी दीर्घकालीन असर हुन्छ,’ उनी भन्छन्, ‘भविष्यमा व्यवसायीले ऋणको ब्याज तिर्न नसक्ने अवस्था आउन सक्छ ।’ २०६२/६३ सालको आन्दोलनका बेला लामो समय बन्द हुँदा व्यवसायीहरूले बैङ्क ऋणको ब्याज तिर्न नसक्ने समस्या देखिएको राणाले बताए । सङ्घका उपाध्यक्ष राजनसिंह भण्डारी भने बन्दको प्रभाव अति नै भयावह रहेको बताउँछन् ।
यस आर्थिक वर्षमा चालू मूल्यको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा वित्तीय मध्यस्थता क्षेत्र (राष्ट्र बैङ्क तथा बैङ्क–वित्तीय संस्थाहरू, बीमाक्षेत्र, धितोपत्र बोर्ड आदि)को योगदान लगभग ८७ अर्ब रुपैयाँ हुने प्रक्षेपण केन्द्रीय तथ्याङ्क विभागले गरेको छ । सोअनुसार बैङ्क, वित्तीय र बीमाक्षेत्रले दैनिक लगभग रू. २९ करोड जीडीपीमा योगदान दिइरहेका छन् । यसरी सोझो हिसाबले हेर्दा १ दिनको बन्दका कारण जीडीपीमा बैङ्क तथा वित्तीय क्षेत्रबाट २९ करोड रुपैयाँबराबरको योगदान नोक्सान हुने देखिन्छ । वास्तवमा यसरी बैङ्क तथा वित्तीय क्षेत्रमा हुने नोक्सानको प्रत्यक्ष असर पूरा अर्थतन्त्रमा नै पर्ने जोशीको भनाइ छ । ‘हामीले वित्तीय मध्यस्थताको काम गर्ने हो । बन्दका कारण हाम्रो काम असहज हुनेबित्तिकै यसको असर पूरा अर्थतन्त्रमा पर्छ’, जोशीले भने । त्यसैले बन्दले बैङ्किङ क्षेत्रमा कति असर पर्यो भन्दा पनि समग्र अर्थतन्त्र कति प्रभावित भयो भनेर बहस गर्नु उपयुक्त हुने उनको तर्क छ ।
नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर महाप्रसाद अधिकारी बैङ्किङ क्षेत्रको वार्षिक खुद नाफा २० अर्ब रुपैयाँ रहेको र बन्दका कारण त्यही अनुपातको दैनिक घाटा यस क्षेत्रमा भइरहेको बताउँछन् । वार्षिक कार्यदिन ३ सय लिने हो भने बैङ्क तथा वित्तीय संस्थाहरूको दैनिक आम्दानी ६ करोड ६७ लाख रुपैयाँको हाराहारीमा हुन्छ ।
No comments:
Post a Comment