Thursday, June 14, 2012

विप्रेषण निर्भर जीवनस्तर सुधार, आर्थिक दुर्घटनाको धराप

नेपाल जीवनस्तर सर्वेक्षण २०११ ले नेपालको गरीबी घटेर २५ प्रतिशत पुगेको देखाएको छ । सर्वेक्षणले प्रत्येक घरपरिवारको आय सन् १९९५/९६ को तुलनामा पाँच गुणा बढेको सार्वजनिक गरेको छ । अहिले नेपालको प्रतिघरपरिवार वार्षिक आय २ लाख ३ हजार रूपैयाँ पुगेको देखिएको छ । यसले सार्वजनिक गरेका अन्य सूचकहरूले पनि नेपालीहरूको जीवनस्तर बढेको देखिन्छ । यस्तो तथ्याङ्क सार्वजनिक हुनु सकारात्मक नै हो । तर, यसको प्रमुख आधार भनेको नेपाली युवाहरूले विदेशमा काम गरेर पठाएको विप्रेषण नै हो । कुल गार्हस्थ्य उत्पादन बढेर होइन, विप्रेषण मात्रै बढेर जीवनस्तर उक्सिनुले सकारात्मक सन्देश दिएको छैन । देशभित्रै उत्पादन बढाएर मात्रै दिगो आर्थिक वृद्धि हासिल गर्न सकिन्छ भन्नेमा कसैको दुईमत हुन सक्दैन । त्यसैले नेपालीको जीवनस्तर वृद्धिको यो आधारलाई पनि संरक्षण गर्दै देशभित्रै उत्पादन बढाउनतर्फलाग्नुपर्छ ।

सन् २००३/०४ मा यो नेपालमा कुल ९० अर्बको हाराहारीमा विप्रेषण भित्रन्थ्यो । सन् २०११ मा पुग्दा २ खर्ब ३१ अर्ब रूपैयाँको हाराहारीमा विप्रेषण भित्रन थालेको छ । नेपालका ५६ प्रतिशत घरपरिवारले विप्रेषण भित्र्याइरहेको तथ्याङ्क यो सर्वेक्षणले सार्वजनिक गरेको छ । तर, भित्रिएको कुल विप्रेषणमध्ये ७९ प्रतिशत दैनिक उपभोगमा खर्च भइरहको छ । साहूको ऋण तिर्ने, सम्पत्ति जोड्ने तथा शिक्षा तथा स्वास्थ्यमा खर्च हुने रकमसमेत जोड्दा जम्मा साढे २ प्रतिशत विप्रेषण मात्र बचत भएको देखिन्छ । त्यसैले नेपालको कुल गार्हस्थ्य उत्पादनको २३ प्रतिशत बराबरी भित्रने विप्रेषण उत्पादनमूलक क्षेत्रमा लगानी भई पूँजी निर्माण हुन सकेको छैन । त्यसैले यसले देशको कुल गार्हस्थ्य उत्पादन वृद्धिमा योगदान दिन सकेको छैन ।

देशमा उद्योगधन्दा खुल्न सकेका छैनन् । त्यसो हुँदा बेरोजगारी समस्या तीव्र रूपमा बढ्दै छ । देशमा रोजगारीको अवसर न्यून हुँदै गएपछि सक्षम युवापुस्ता विदेश पलायन भइरहेको छ । त्यहाँबाट नेपालीहरूले वर्षेनि पठाउने गरेको विप्रेषण रकम कम त छैन तर त्यसको उत्पादनमूलक उपयोग हुन सकेको छैन । यदि विप्रेषण रकमलाई पूँजी निर्माणको काममा लगाउन सक्ने हो भने त्यसले यहाँ रोजगारीको अवसर सृजना गर्नेछ र देशको गार्हस्थ उत्पादनमा त्यसबाट योगदान पुग्न सक्छ । तर, दैनिक उपभोगमा मात्रै त्यो रकम खर्च भइरहेको हुँदा देशको अर्थतन्त्र नै उपभोगमुखी बनेको छ । देशभित्र नयाँ उद्योगधन्दाहरू नबढ्ने तथा भएकाहरू पनि बन्द हुने अवस्था भएपछि उपभोगका लागि आयातनिर्भर हुनुको विकल्प छैन । यसो हुँदा पछिल्ला वर्षहरुमा विप्रेषणसँगै आयात पनि तीव्र रूपमा बढिरहेको छ । र, देशको भुक्तानी सन्तुलन नकारात्मक बनिरहेको छ । यसरी विप्रेषणमुखी अर्थतन्त्रले देशलाई आयातमुखी बनाउँदै अन्धकारतर्फधकेल्दै छ ।

आज हामी नेपाली जनताको जीवनस्तर बढ्दा पनि सन्तुष्ट हुने अवस्थामा छैनौं । भोलि यो विप्रेषणको स्रोत बन्द भयो भने हाम्रो स्थिति के होला, त्यसको विचार हामीले शायद गरेका छैनौं । अझ रोजगारीको सिलसिलामा विदेशमा रहेका ५०औं लाख युवा देश फर्किनुपर्ने बाध्यात्मक परिस्थिति सृजना भयो भने आम्रो आयको प्रमुख स्रोत त बन्द हुन्छ नै, तिनीहरूलाई हामी के काम दिनेछौं ? साँच्चै कहालीलाग्दो स्थिति छ । राजनीतिक अस्थिरता र अनिश्चितताका कारण नै यो सबै समस्या उत्पन्न भइरहेको छ भन्नेमा विवाद छैन । तर, यो स्थितिको स्वामित्व लिन हाम्रो राजनीतिक नेतृत्व तयार छैन । त्यो नभइन्जेल हामी आर्थिक दुर्घटना पर्खेर बस्नुको विकल्प पनि छैन ।

No comments:

Post a Comment