काठमाडौंको न्यूरोड बस्ने राजकुमार कार्की (नाम परिवर्तन)ले गत चैत २९ गते ४७ लाख ८३ हजार रुपैयाँ तिरेर १ किलोग्राम सुन किने । तर, वैशाख ४ गतेसम्ममा सुनको मूल्य घटेका कारण उनीसँग भएको सुनको जम्मा ४२ लाख ४३ हजार रुपैयाँ मात्रै आउने भएको छ । त्यसको १ हप्ताकै बीचमा करीब साढे ५ लाख गुमाएका उनी सुनको भाउ अझै घट्ने अनुमान भइरहँदा चिन्तित छन् । ‘मसँग योभन्दा पनि महँगोमा किनेको अरू २ किलोजति सुन पनि छ, अहिले बेकारमा किनेछु जस्तै भइरहेको छ,’ उनी भन्छन् ।
अघिल्लो शुक्रवारमात्रै बहिनीको विवाहका लागि प्रतितोला ५५ हजार ५ सय रुपैयाँका दरले ५ तोला सुन किनेका सिन्धुलीका कृष्णहरि बरालले त्यसको ४ दिनमा नै ३१ हजार रुपैयाँ घाटा सहनुप¥यो । ‘एक÷दुई दिन कुर्नुपर्ने रहेछ,’ उनी भन्छन् ।
यी त नेपालका केही प्रतिनिधिमूलक घटना हुन् । साइप्रसले आफ्नो सञ्चितिमा रहेको ठूलो परिमाणको सुन बेच्ने घोषणा गरेपछि अहिले सुनको मूल्यमा भएको आकस्मिक कमीले विश्वबजारमा नै हल्लीखल्ली मच्चिएको छ । विश्वबजारमा नै सबैभन्दा सुरक्षित लगानीको क्षेत्रका रूपमा रहेको सुनप्रति लगानीकर्ताको विश्वास भाँचिएको छ । सुन फ्यूचर्सहरूको मूल्य घटिरहेको छ । यसले आगामी दिनमा सुनको मूल्यमा अझै कमी हुने सङ्केत गर्छ ।सुन कुनै पनि उपयोगिता नभएको धातु हो । र, सुनमा लगानी गर्नु बेकार छ ।
जसरी विगतमा सुनको मूल्य १ हजार ९ सय २० डलर प्रतिऔंसभन्दा माथि पुगेको थियो, त्यसबेला यसको मूल्य ४ हजार डलर प्रतिऔंस पुग्ने भविष्यवाणी गर्नेहरू पनि थिए । तर, अहिले आएर सुनको मूल्य अझै प्रतिऔंस ५ सय डलर कम हुने अनुमान गर्नेहरू पनि देखिएका छन् । विगत ३–४ वर्षमा विश्वव्यापी आर्थिक मन्दीका कारण लगानीका अन्य विकल्पहरू कमजोर बन्दा सुनको मूल्यमा बढोत्तरी हुनु स्वाभाविक थियो । तर, सुनको मूल्य फोकाजस्तै बढ्यो र अहिले त्यो फुट्ने अवस्थामा पुगेको छ । सुन मानवीय उपयोगिताको हिसाबले अत्यन्तै काम नलाग्ने वस्तु भएको कुरालाई आत्मसात् नगरेका कारण मानिसहरू सुनको मूल्यको घनचक्करमा रुमल्लिइरहेका छन् ।
शेयरबजार, डलर, यूरो, येन तथा स्वीस फ्र्याङ्कजस्ता लगानीका अन्य विकल्प अनिश्चित भएको बेलामा सुनको मूल्य आकासिएको थियो । क्रेडिट रेटिङ ऐजेन्सी ‘एस एण्ड पी’ले गतवर्षसम्म अमेरिकाको रेटिङ घटाएपछि अमेरिकी डलरप्रति मानिसहरूको विश्वास डग्मगाएको थियो । विश्वका अन्य मुद्राको मूल्य पनि त्यसबेला घटिरहेको थियो भने तीमध्ये कतिपयको अवस्था अहिले पनि उस्तै छ । विश्वव्यापी आर्थिक मन्दीको प्रमुख कारणका रूपमा रहेको घरजग्गाको मूल्य घट्दो क्रममा नै थियो । त्यस्तो अवस्थामा लगानीको निर्विकल्प क्षेत्रका रूपमा मानिसहरूले सुनलाई नै माने । त्यसमा अत्यधिक धेरै लगानी गरे । तर, अहिले आएर अमेरिकी अर्थतन्त्रमा सुधार देखिएको छ । त्यहाँको घरजग्गा व्यवसायमा जीवन्तता देखिन थालेको छ । शेयरबजारहरू ऐतिहासिक कीर्तिमान बनाउँदै बढिरहेका छन् । अर्कातर्फ विश्वमा तेलको मूल्यमा पनि कमी आइरहेकाले तेलमा समेत लगानी गइरहेको छ । यस्तो अवस्थामा सुनको मूल्यमा कमी आउनु कुनै अस्वाभाविक विषय होइन ।
अमेरिकी सरकारले प्रकाशन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई)का आधारमा सुनको वास्तविक मूल्य सन् १९८० मा नै प्रतिऔंस २ हजार ५ सय पुगेको मानिन्छ । त्यस हिसाबले सुनको हालको स्वाभाविक मूल्य प्रतिऔंस २ हजार ५ सयभन्दा धेरै माथि पुगिसकेको हुनुपर्ने हो । तर, त्यसो भएको छैन । यसको अर्थ सुनलाई लगानीको भरपर्दो वस्तु मान्न सकिँदैन । त्यही भएर नै आँखा चिम्लिएर सुनमा गरिएको लगानीले जोखिम निम्त्याउने नै थियो, जुन अहिले देखिइरहेको छ र भोलिका दिनमा त्यो अझै प्रगाढ भएर जानेछ । सुनको मूल्यमा अझै धेरै कमी आउने बैङ्क अफ अमेरिकाको बिहीवारको प्रक्षेपणले पनि यही सङ्केत गर्छ ।
गतवर्ष विश्वचर्चित लगानीकर्ता वारेन बफेटले समेत सुनलाई बेकारको वस्तुका रूपमा चित्रित गरेका थिए । साँच्चै सुन काम नलाग्ने धातु हो । किनभने, उत्पादन तथा औद्योगिक क्षेत्रमा सुनको प्रयोग शून्यजस्तै छ । विश्वमा ७० प्रतिशत सुनको प्रयोग गहना बनाउनका लागि हुन्छ । बाँकीमध्ये २० प्रतिशत सुन लगानी प्रयोजनका लागि प्रयोग हुन्छ । र, ५ प्रतिशत सुन विद्युतीय सामग्रीहरू, दाँत आदिलाई सिँगार्नका लागि प्रयोग हुन्छ । वास्तवमा सुनबाट यस्ता कुनै औजार बन्दैनन्, जसले उत्पादन गर्न सकून् । त्यसो हुँदा सुन काम नलाग्ने धातु हो । तर, परम्परागत रूपमै सुनलाई विश्वासिलो माध्यम मानिँदै आएको छ । विश्वभरिका केन्द्रीय बैङ्कहरूले मुद्रा निष्कासन गर्दाको सुरक्षणको प्रमुख हिस्सा सुनले लिइरहेको छ । सुनको गरिमा बढाउनका लागि त्यसले पनि सहयोग गरिरहेकामा अब भने त्यसमा प्रश्न चिन्ह उठेको छ ।
No comments:
Post a Comment