
डा. बद्रीप्रसाद श्रेष्ठ
पूर्वअर्थमन्त्री तथा पूर्व उपाध्यक्ष
राष्ट्रिय योजना आयोग
राष्ट्रिय योजना आयोग
तपाईंहरूले क्षेत्रीय विकासको अवधारणा शुरू गर्नुभएको थियो, त्यसबेला के सोचेर त्यो अवधारणा ल्याइएको थियो ?
समानुपातिक विकास । विकास सबैको सहभागिताबाट हुनुपर्छ र विकासको प्रतिफल पनि सबैले उपभोग गर्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ सो अवधारणा ल्याइएको थियो । अर्को जबसम्म क्षेत्रीय आयामलाई समेटेर विकास योजनाहरू बनाइँदैन, तबसम्म तीव्र आर्थिक विकास हुँदैन । यसमा मेरो थेसिस के थियो भने सम्पूर्ण श्रमशक्तिलाई जहाँ काम पाइन्छ, त्यहाँ मात्र लगेर हुँदैन, श्रमशक्ति जहाँ हुन्छ, त्यहाँ विकासका क्रियाकलाप पुर्याउनुपर्छ । त्यसो भयो भने उपलब्ध श्रमशक्तिले काम पाउँछ र उत्पादनमा योगदान गर्न सकिन्छ । यसबाट बेरोजगारी समस्या पनि समाधान हुन्छ ।
हाम्रो तराईको अर्थतन्त्र एक किसिमको छ, पहाडको अर्कै छ र हिमालको अझ फरक छ । यी तीन क्षेत्रबीचको अन्तरसम्बन्ध अत्यन्त न्यून छ । त्यसबेला अर्थात् हामीले योजना बनाउँदा त तराईमै पनि यातायातको सुविधा थिएन । त्यसो हुँदा हामीले सबैभन्दा पहिला उत्तर–दक्षिण जोड्ने राजमार्ग बनाउने विषयलाई जोड दियौं । पहाडमा एक किसिमको उत्पादन हुन्छ, तराईमा अर्कै हुन्छ । यी दुई उत्पादनबीचमा विनिमय हुने वातावरण भएपछि मात्रै पहाड र तराईबीच आर्थिक सम्बन्ध स्थापित हुन्छ । यसरी पहाड र तराईबीच आर्थिक अन्तरसम्बन्ध बढाउन राजमार्गको प्रयोग गर्ने भनेर हामीले ‘ग्रोथ एक्सिस’को अवधारणा शुरू गरेका थियौं । वास्तवमा यो क्षेत्रीय योजनाको एउटा महत्वपूर्ण तत्व थियो ।
हरेक ‘ग्रोथ एक्सिस’मा एकएकओटा शहर ‘ग्रोथ सेण्टर’का रूपमा विकास गर्ने भन्ने थियो, त्यो पनि सफल भएन नि ?
बाटोमात्रै बनाएर पुग्दैन, त्यसबाट फाइदा पनि लिनुपर्यो भन्ने अवधारणाका साथ ‘ग्रोथ सेण्टर’को अवधारणा ल्याइएको थियो । सूर्यको किरण सबैतिर फैलिएजस्तै विकासका प्रभाव गाउँ गाउँ सम्म फैलाउनका लागि ग्रोथ सेण्टरहरू स्थापना गरिएको थियो । ग्रोथ सेण्टर आफ्नो मात्रै विकास हुने होइन कि त्यसले विकासको तरङ्ग चारैतिर फैलाउन सकोस् भन्ने सोचाइ थियो । त्यो केन्द्रबाट सम्पूर्ण सेवासुविधा सम्बन्धित सबै क्षेत्रमा फैलाउने उद्देश्य थियो । तर, त्यो कार्यक्रमलाई तीव्र राजनीतीकरण गरियो र लक्षित उद्देश्य प्राप्त हुन सकेन । साथै, यो आवधारणाले निरन्तरता पनि पाउन सकेन ।
मुलुकलाई २०२८ सालमा चार विकास क्षेत्रमा विभाजन गरियो र पछि पाँचओटा बनाइयो । क्षेत्रीय विकासको अवधारणा कार्यान्वयन गर्नकै लागि त्यसो गरिएको थियो कि अन्य कुनै कारण थियो ?
क्षेत्रीय योजनाका लागि मात्रै त्यसो गरिएको होइन । समानुपातिक विकास गर्ने लक्ष्य त छ“दैछ, प्रशासनलाई पनि सुगम बनाउने उद्देश्यका साथ मुलुकलाई विकास क्षेत्रहरूमा विभाजन गरिएको थियो । वास्तवमा पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला नेपालको प्रशासन सञ्चालन गर्न बनाइएको एउटै प्याकेज थियो । विकास क्षेत्र बनेपछि त्यसपछिका विकास योजनाहरू त्यही आधारमा बन्न थालेका हुन् ।
क्षेत्रीय योजना शुरू गर्दा २० वर्षभित्र सबै विकास क्षेत्रको आयस्तर समान बनाउने उद्देश्य राखिएको थियो । तर, त्यो लक्ष्य हालसम्म पनि हासिल हुन सकेको छैन । किन ?
वास्तवमा त्यो एक किसिमले मेरो व्यक्तिगत अभ्यास थियो । त्यो अवधारणालाई मैले पुस्तकका रूपमा पनि प्रकाशित गरेको थिए । जुन परिकल्पना हामीले गरेका थियौं, त्यो राम्रो थियो र त्यसलाई कार्यान्वयनमा पनि लैजानुपथ्र्यो । तर, त्यसलाई कसैले पनि गम्भीर रूपमा लिएनन् । क्षेत्रीय योजनालाई त्यसबेला राजनीतिक नाराबाजीका रूपमा प्रयोग गर्ने काममात्रै भयो । समान आयस्तर बनाउनका लागि सुदूरपश्चिम र पूर्वाञ्चलमा लगानीको कति भिन्नता हुनुपर्छ, आर्थिक वृद्धि कुन क्षेत्रमा ५ प्रतिशतमात्रै गर्ने, कुनमा ७ प्रतिशत गर्ने र कुनमा १० प्रतिशत गर्ने भन्ने विभेद हुन्छ । २० वर्षभित्रमा समान आयस्तर बनाउनका लागि लगानी, वृद्धिदर, कार्यक्रम पनि फरकफरक ढङ्गले हुनुपर्ने थियो । त्यस किसिमको विस्तृत अभ्यास राष्ट्रिय योजना आयोगले पनि गर्न सकेन । मैले यो अभ्यासलाई अघि बढाउँदै गर्दा मलाई राजदूत बनाएर जापान पठाइयो र मुलुकमा जनमतसङ्ग्रह भयो । त्यसपछि योजना आयोगको पुनर्गठन गरियो र क्षेत्रीय योजनाको अवधारणालाई अलपत्र छोडियो ।
म योजना आयोगमै हुँदा छैटौं पञ्चवर्षीय योजनाको अवधारणा पारित गराएको थिए । त्यसबेला राजा स्वयम् उपस्थित राष्ट्रिय विकास परिषद्को बैठकले त्यो पारित गरेको थियो । त्यो अवधारणाअनुसार हरेक गाउँ पञ्चायतले आफ्नो छुट्टै पञ्चवर्षीय योजना बनाउनुपर्ने थियो । ७५ ओटै जिल्ला र ३ हजार ९ सय गाउँ पञ्चायतले आआफ्नो छुट्टै पञ्चवर्षीय योजना बनाउनुपर्ने प्रस्ताव गरिएको थियो । यसरी स्थानीय निकायबाट आएका पञ्चवर्षीय योजनाको समष्टि राष्ट्रिय स्तरको पञ्चवर्षीय योजना हुने प्रस्ताव गरिएको थियो । त्यो विषय कार्यान्वयन गर्नका लागि हामीले ७५ ओटै जिल्लामा मान्छे पठाएर सर्वेक्षण गर्न लगायौं । १४ ओटै अञ्चलमा राष्ट्रिय योजना आयोगका सदस्य पुगेर जनताका आवश्यकता बुझ्ने र जनतालाई बुझाउने काम गरेका थियौं । चार विकास क्षेत्रमा मन्त्रीस्तरीय बैठक आयोजना गरिएको थियो । यस किसिमको गहन अभ्यासबाट त्यो रूपरेखा बनाइएको थियो ।
यसरी बनाइएको योजनाको नमूना (फम्र्याट) सबै जिल्ला र गाउँ पञ्चायतमा पुर्याइएको थियो । तर, त्यति धेरै अभ्यास भएको त्यो योजना कार्यान्वयन हुन सकेन । यदि त्यो कार्यान्वयन भएको भए, विकेन्द्रीकरणको असली रूप त्यही हुने थियो । त्यसबाट नेपालको रूपै अर्कै भइसक्थ्यो । हरेक गाविसलाई ५ वर्षमा कति बजेट हुन्छ, कति सरकारी सहयोग आउँछ, कति आफैले बेहोर्नुपर्छ, त्यो थाहा हुने थियो । त्यो कुरा जनताले पनि थाहा पाउने थिए । तर, अहिले सबै काम हचुवामा भइरहेको छ । वास्तवमा पछिल्लो समयमा विकेन्द्रीकरणको निकै ठूलो नारा दिइयो तर त्यो विकेन्द्रीकरण नभएर कर्मचारीकरण मात्रै भएको छ । अहिले त गाउँ मा गाविस सचिवहरू नबस्ने भएपछि कर्मचारीकरण पनि हुन सकेको छैन ।
वास्तवमा त्यो योजना कार्यान्वयन हुन सकेको भए त अहिले सङ्घीयताको माग पनि उठ्ने थिएन होला । किनभने जनताको छेऊमै विकास र शासन पुगोस् भनेर सङ्घीयताको माग भएको अवस्था छ नि ?
यदि त्यो योजना कार्यान्वयनमा गएको भए नेपालले ८–९ प्रतिशतको आर्थिक वृद्धि सजिलै हासिल गर्न सक्थ्यो । नेपालको विकास हुन नसक्नुको कारण हामीस“ग उपलब्ध जनशक्तिलाई सदुपयोग गर्न नसक्नु हो । हाम्रो सबैभन्दा ठूलो साधन जनशक्तिलाई हामीले पुँजीका रूपमा उपयोग गर्नै सकेनौं । जनशक्तिको सदुपयोग गर्नका लागि विकासमा व्यापक जनसहभागिता बढाउनुपर्छ । त्यसका लागि तल्लो तह (ग्रासरुट लेभल)बाट योजना बनाउनुपर्छ । हेर्दा हरेक गाविसले पञ्चवर्षीय योजना बनाउने विषय निकै महत्वाकाङ्क्षी लाग्न सक्छ । तर, व्यावहारिक रूपमा त्यो गाह्रो काम होइन । अहिले गाविस÷गाउँ परिषद्ले बनाइरहेको एकवर्षे कार्यक्रमलाई नै अलि विस्तृत र दीर्घकालीन रूप दिने हो । यदि त्यो मोडल लागू भएको भए विकासोन्मुख देशहरूका लागि त्यो एउटा नमूना (मोडल) हुन्थ्यो । त्यो मोडल पञ्चायत व्यवस्थालाई सुहाउँदो आर्थिक विकासको मोडल थियो ।
क्षेत्रीय योजनाको अवधारणा छैटौं योजनासम्म थोरबहुत कायम थियो, त्यसपछि रोकियो होइन त ?
पाँचौं योजनामा नै आधारभूत आवश्यकता परिपूर्ति गर्ने भन्ने उद्देश्य थियो । त्यसपछिका योजनाहरू गरीबी निवारणमा केन्द्रित हुन थाले ।
क्षेत्रीय योजनाको अवधारणा अहिलेको सन्दर्भमा कत्तिको औचित्यपूर्ण लाग्छ ?
अहिले सङ्घीयतासम्बन्धी बहसहरू चलिरहेका छन् । यस्तो अवस्थामा त क्षेत्रीय योजना अझै औचित्यपूर्ण छ । क्षेत्रीय योजना नभईकन सङ्घीयता कार्यान्वयन हुनै सक्दैन । त्यसैले क्षेत्रीय योजनालाई नै विकासको आधार बनाइएन भने त्यसबाट काम हुँदैन । यसर्थ क्षेत्रीय योजना पहिलेभन्दा अहिले अझ बढी आवश्यक छ ।
पञ्चायतदेखि नै नेपालले विकेन्द्रीकरणको अभ्यास गरेको हो, २०३९ सालमा विकेन्द्रीकरण ऐन नै आएको हो । तर पनि नेपालमा त्यसको राम्रो अभ्यास किन हुन सकेन ?
हामीले स्थानीय निकायलाई अधिकार दिने त भन्यौं तर उनीहरूमा त्यो अधिकार प्रयोग गर्न सक्ने क्षमता छ कि छैन, त्यो हेरेनौं । वास्तवमा हाम्रा स्थानीय निकायहरूमा त्यो अधिकार प्रयोग गर्न सक्ने क्षमता नै थिएन । स्थानीय निकायमा त्यो क्षमता विकास गर्नुपर्ने आवश्यकता थियो । तर, त्यसो गरिएन । त्यसबेलाको विकेन्द्रीकरणको मुख्य कमजोरी नै त्यही हो । बहुदल आइसकेपछि पनि स्थानीय निकायको नाम मात्रै परिवर्तन भयो, विकास प्रक्रियामा परिवर्तन भएन ।
२०५५ सालमा आएको स्थानीय स्वायत्त शासन ऐनले पनि स्थानीय निकायलाई प्रशस्त अधिकार दिएको छ तर वित्तीय स्रोतको व्यवस्था गरिएको छैन । यो पहिलेदेखि कै रोग हो, होइन त ?
हो । अधिकार दिने तर स्रोतको व्यवस्था नगर्ने पहिलेदेखि कै रोग हो । मैले देशका ६८ ओटा जिल्ला घुमेको छु । गाविसहरूले सानो मात्रै अनुदान पाए पनि कति ठूलाठूला विकासका काम गर्न सक्दारहेछन् भन्ने मैले देखेको छु । चीनमा सांस्कृतिक क्रान्ति भएको बेला जसरी जनता आफैले विकासका काम सम्पन्न गरेका थिए, त्यो नेपाली जनताले पनि गरेको मैले देखेको छु । छिनाको भरमा ठूलोठूलो कुलो निर्माणको काम नेपाली जनताले गरेका छन् । तर, अहिलेसम्म त त्यो अवस्था पनि रहेन ।
देशलाई सङ्घीयता नै चाहिएको हो वा क्षेत्रीय योजनाको माध्यमबाट देशमा साँचो रूपमा विकेन्द्रीकरण गरेर नै विकास गर्न सकिन्छ ?
साँच्चै भन्ने हो भने यो देशका लागि सङ्घीयता आवश्यक छैन । सङ्घीयताका सम्बन्धमा एक त राजनीतिक दलहरूबीचमै समान अवधारणा छैन । उनीहरूका लागि सङ्घीयता अन्धाले हात्ती छामेजस्तो भएको छ । हामीलाई चाहिएको त सुसङ्गठित र एकीकृत राष्ट्रियता हो, हामीलाई विखण्डन चाहिएको होइन । हामीलाई चाहिएको राष्ट्रियता समृद्ध राष्ट्र भएपछि मात्रै प्राप्त हुन्छ । सङ्घीयताका नाममा राष्ट्रलाई टुक्राटुक्रा पार्दा त्यो आर्थिक रूपमा उचित हुन्छ कि हु“दैन भन्ने कसैले अध्ययन गरेको छैन । म त अहिले भएका ७५ जिल्लालाई पनि घटाएर २५–२६ ओटामात्र बनाउनुपर्छ भनिरहेको छु ।
क्षेत्रीय योजना र विकेन्द्रीकरणको लामो अभ्यास हुँदा पनि अपेक्षित विकास हासिल हुन नसकेको अवस्थामा संघीयताको विकल्प के हुनसक्छ त ?
विकास भनेको जनताका लागि हो । विकासको मूलस्रोत पनि जनता नै हुन् । त्यसैले जनसहभागिता बढाउने किसिमको विकास गर्नुपर्छ । त्यसबाट उत्पादन बढ्छ, जनताको माग पूरा हुन्छ, स्थानीय स्रोतसाधनको परिचालन हुन्छ भन्ने मेरो धारणा छ । विकासका लागि जनशक्ति परिचालन गर्नुको विकल्प छैन, उनीहरूलाई क्रियाशील बनाउन सकिएको छैन ।
हालसम्म हामीले सङ्घीयता कुन हिसाबले गर्ने भन्ने निक्र्योल गर्न सकेका छैनौं । बरु पहिल्यै विकास भइसकेको पाँच विकास क्षेत्रकै आधारमा सङ्घीयतामा गएको भए वा गए त्योचाहिँ सुन्दर हुन्छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले अहिले क्षेत्रीय विकासको अवधारणा अघि सारेको छ, तपाईंहरूले शुरू गरेको क्षेत्रीय योजना सँग यसको कत्तिको तदात्म्य देख्नुहुन्छ ?
देशको विकासका लागि अर्थतन्त्रको विकास अवश्यम्भावी छ । अहिले कुल गार्हस्थ्य उत्पादनको अधिकांश भाग निजीक्षेत्रको उत्पादनले ओगट्छ । त्यसैले निजीक्षेत्रले क्षेत्रीय विकासका लागि चासो देखाउनु निकै उत्साहपूर्ण हो । निजीक्षेत्र विकासका लागि अझै बढी सक्रिय हुनुपर्छ र लगानी बढाउनुपर्छ । निजीक्षेत्रका समस्याहरू एक ठाउँमा छन् तर देश विकासको संवाहक निजीक्षेत्र नै हुनुपर्छ भन्ने मेरो मान्यता छ । उदारीकरण र निजीक्षेत्रको प्रयासले मात्रै विकास हुन्छ भन्ने त कुरा त चीन र भारतको विकासलाई हेरे प्रमाणित हुन्छ ।
No comments:
Post a Comment