Saturday, June 29, 2013

चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउनु आवश्यक छैन

अनिल ज्ञवाली
प्रमुख कार्यकारी अधिकृत
नबिल बैङ्क लिमिटेड


नबिल बैङ्कले चालू आर्थिक वर्षको ९ महीनाको अवधिमै सहायक कम्पनीहरूको मुनाफासमेत गरेर १ अर्ब ५४ करोड खुद मुनाफा आर्जन गरिसकेको छ। यो नेपालका बैङ्कहरूमध्ये सबैभन्दा ठूलो नाफा रकम हो। सन् २०१० देखि मुनाफा रकमका हिसाबले मुलुककै पहिलो स्थानको बैङ्कका रूपमा रहेको नबिलले आफ्नो अवस्थालाई थप बलियो बनाउँदै गएको छ । विगत २ वर्षदेखि अनिल ज्ञवालीले नबिलको प्रमुख कार्यकारी अधिकृतका रूपमा व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेका छन्। पहिलो नम्बरको बैङ्क भइरहन सामना गर्नु परिरहेको चुनौती, बैङ्कको वर्तमान अवस्था तथा समग्र वित्तीय प्रणालीका विषयमा आर्थिक अभियानका जनार्दन बरालले ज्ञवालीसँग गरेको कुराकानीको सार :

सन् २०१० देखि नबिल बैङ्क खुद मुनाफा रकमका हिसाबले मुलुकको नम्बर १ बैङ्क बनिरहेको छ । पहिलो नम्बरको बैङ्क बनिरहन कस्ता चुनौतीहरू सामना गर्नुपर्दो रहेछ ?
नबिल बैङ्क आफ्नो स्थापनाको ३० वर्षमा प्रवेश गर्दैछ । वास्तवमा व्यवसायमा लामो यात्रा नबिलको बलियो पक्ष हो । बैङ्कलाई ग्राहकको निरन्तर सहयोग प्राप्त भएको छ । बैङ्कमा क्षमतावान र अनुभवी कर्मचारीहरू भएका कारणले बैङ्कको आधार बलियो रहेको छ । त्यसो हुँदा बजार विस्तारमा हामीलाई सजिलो भएको हो । त्यति हुँदाहुँदै पनि बजारको प्रकृति भनेको बहुआयामिक हुन्छ र हामीले गर्ने काम पनि त्यहीअनुसारकै हुनुपर्छ । यही कुरालाई ध्यानमा राख्दै हामीले तीनवर्षे रणनीतिक योजना पनि बनायौं । साथै, आन्तरिक रूपमा कुन क्षेत्रमा केन्द्रित हुने भन्ने योजना पनि बनायौं । हामी आम्दानी बढाउने र खर्च घटाउने काम गर्न सफल भयौं । यी सबै कारणले हामी मुलुकको नम्बर १ बैङ्क बन्नलाई सहयोग गरेको छ । तर, पहिलो नम्बरको बैङ्क बनिरहनका लागि केही चुनौती पनि सामना गर्नुपरिरहेको छ । मुलुकको अर्थतन्त्रको वृद्धि सुस्त भइरहेको सन्दर्भमा ग्राहक ल्याइरहनु पनि चुनौतीका रूपमा रहेको छ ।

तपाईंहरूको मुख्य प्रतिस्पर्धी कुन बैङ्क हो ? स्ट्याण्डर्ड चार्टर्ड, एनआईबीएल, एभरेष्ट वा कुन ? कसरी ?
हामी कुनै एउटा बैङ्कलाई प्रतिस्पर्धी मान्दैनौं । किनभने, मुलुकका ३२ ओटा वाणिज्य बैङ्कको आआफ्नै सबलताहरू छन् । सबै बैङ्कले सबै किसिमका सेवा दिइरहेको अवस्था पनि छ । अर्कातिर हरेक बैङ्कको प्रडक्ट तथा सेवाहरूले हाम्रो बैङ्कसँग प्रतिस्पर्धा गरिरहेको हुन्छ । त्यसैले कुनै अमूक बैङ्कसँग प्रतिस्पर्धा गर्नुभन्दा पनि सेवा प्रवाहलाई प्रभावकारी बनाउने हाम्रो सोचाइ हो । बरु मुलुकका सबै बैङ्क तथा वित्तीय संस्थालाई हामीले प्रतिस्पर्धीका रूपमा हेरेका छौं ।

सँगै स्थापना भएका दुई बैङ्कहरू नबिल र नेपाल इन्भेष्टमेण्ट लगभग उस्तै गतिमा अघि बढिरहेका छन् र मुलुकका ठूला दुई बैङ्कमध्येमा छन् । त्यसो हुँदा इन्भेष्टमेण्टसँग यहाँहरूको बढी प्रतिस्पर्धा छ कि ?
त्यसो होइन । निश्चय पनि नेपाल इन्भेष्टमेण्ट मुलुकको एउटा राम्रो बैङ्क हो । आकारका हिसाबले पनि ऊ सबल बैङ्क हो । ग्राहक तथा कर्मचारी दुवै पक्षमा उहाँहरू उत्तिकै बलियो हुनुहुन्छ । त्यसैले निश्चय पनि राम्रो बैङ्कसँग हाम्रो स्वस्थ प्रतिस्पर्धा हुनु स्वाभाविक हो, जसबाट सेवाग्राहीलाई छिटोछरितो सेवा पुग्न जान्छ । ग्राहकलाई पनि बैङ्क छनोट गर्ने स्वतन्त्र अवसर प्राप्त हुन्छ । ग्राहकलाई हामीकहाँ ल्याउन हामी नै बलियो बन्नुपर्छ, अर्कोलाई कमजोर बनाउने भन्ने होइन । सबैले राम्रोसँग काम गर्दा समग्र क्षेत्रको विकास एवम् विस्तार हुन जान्छ । यसबाट एकअर्कोलाई सहयोग पनि भएको हुन्छ । हामीबीच पनि धेरै परियोजनामा सहकार्य भएको छ । हामी उहाँहरूसहित अरू धेरै बैङ्कसँग मिलेर ठूला परियोजनालाई ल्याउन सहकार्य गरिराखेका छौं र भविष्यमा पनि सोहीअनुसार काम गर्दै जानेछौं । जसले गर्दा समग्र प्रणाली एवम् अन्ततोगत्वा देशलाई नै फाइदा पुग्न जान्छ ।

चुक्ता पूँजीका हिसाबले त तपाईंहरूलाई अन्य धेरै बैङ्कले उछिने नि ?
हाल हाम्रो देशमा बासेल २ लागू भइसकेको छ र हामीले सोही मापदण्ड अवलम्बन गरिरहेका छौं । नेपालमा हामी प्राथमिक पूँजी (कोर क्यापिटल)का आधारमा अघि बढिरहेका छौं । कोर क्यापिटल भनेको चुक्ता पूँजी र विभिन्न सञ्चिति रकम (रिजर्भ)को योग हो । त्यसैले हामीले चुक्ता पूँजी हैन, प्राथमिक पूँजीमा जोड दिनुपर्छ । प्राथमिक पूँजीका आधारमा यहाँले तुलना गर्नुभयो भने हामीलाई पहिलो पङ्क्तिमा पाउनुहुनेछ ।
पछिल्लो त्रैमासमा लोनलस प्रोभिजनिङ (खराब कर्जाबाट हुने सम्भाव्य नोक्सानीका लागि छुट्ट्याएको) रकम पनि अघिल्लो त्रैमासको तुलनामा दोब्बरजस्तै भएछ । ३५ दिने सूचनाहरू निकालिरहनुभएको छ ? किन ?
लोनलस प्रोभिजनिङ गर्ने भनेको बैङ्कले दिएको कर्जामा कुनै जोखीम देखियो भने त्यसलाई घटाउनलाई हो । वास्तवमा कुनै ऋणको भुक्तानी ढिलो भयो भने प्रोभिजनिङ शुरू गर्नुपर्छ भन्ने नियम पनि छ । बैङ्किङ जोखीम लिने किसिमको व्यवसाय हो र कुनै ऋण नउठ्ने अवस्था आउन सक्छ । मुलुकको अर्थतन्त्रको अवस्थाका कारणले पनि यस्तो भएको हो । अर्थतन्त्र सकारात्मक भएको अवस्थामा जुन क्षेत्रले राम्रो प्रदर्शन गरिरहेको हुन सक्छ, त्यही क्षेत्रले अर्थतन्त्र सुस्ताएको अवस्थामा ऋण नतिर्न पनि सक्छ । प्रोभिजनिक एउटा तह हो भने ३५ दिने सूचनाहरूचाहिँ ऋणहरू उठाउनका लागि गरिएको त्यसअघिको कदम हो । त्यसैले यसलाई त्यही रूपमा मात्रै बुझ्नु उपयुक्त हुन्छ । बैङ्किङ जोखीम लिने व्यवसाय भएको हुनाले यस्ता क्रियाकलाप यस क्षेत्रमा हुनु स्वाभाविक हो । सकेसम्म ऋणीको सम्पत्ति विक्री गरेर ऋण उठाऊँ भन्ने हाम्रो मनसाय हुँदैन । ऋणीले सामान्य प्रक्रियाबाट नै भुक्तानी गरोस् भन्ने हुन्छ । तर, त्यस्तो नभएको अवस्थामा हामीले अन्तिम विकल्पका रूपमा लीलामी प्रक्रिया पनि अवलम्बन गर्नुपर्ने हुन सक्छ ।

तेस्रो त्रैमासमा एनपीए पनि बढेको देखियो २.६८ बाट ३.४० मा । मुलुककै नम्बर १ बैङ्कको वित्तीय परिसूचकहरू कमजोर बन्दै गएको देखियो नि ? कहाँनेर गडबड भयो ?
तपाईंले भनेजस्तै निश्चय पनि हाम्रो एनपीए बढेको हो । त्यसका लागि हामीले प्रोभिजनिङ गरिसकेका छौं । एक/दुई कर्जा खाताका कारण त्यसो भएको हो । मैले माथि नै भनेअनुसार समग्र आर्थिक क्षेत्रमा आएको सुस्तीले केही परियोजनामा असर पर्न गएका कारणले यस्तो भएको छ । तथापि असार मसान्तसम्ममा त्यसमा सुधार हुने अपेक्षा गरिएको छ ।

अघिल्लो त्रैमासमा लगानी १८ अर्ब ७५ करोड रुपैयाँ रहेकोमा तेस्रो त्रैमासमा घटेर १६ अर्ब ७५ करोड भएको रहेछ । ऋणचाहिँ बढेको देखियो । यसले लगानीको साटो ऋण बढाउने र ब्याज असुलेर खाने परम्परागत बैङ्किङतिर जान लागेको आभास भयो नि ?
अघिल्लो त्रैमासको तुलनामा लगानी अलिकति कम भएको देखिए पनि अघिल्लो आवको यही अवधिको तुलनामा लगानी बढेको छ । निश्चय पनि कर्जा बढेको छ । तर, बुझ्नुपर्ने कुरा के हो भने बैङ्कहरूले अन्य कम्पनीजस्तो इक्विटीमा लगानी गर्न पाउँदैनन् । बैङ्कको इन्भेष्टमेण्ट पोर्टफोलियो भनेको तरल लगानी हो– सरकारी बण्ड, ट्रेजरी बिल आदिमा भएको लगानी हो, जसको मुख्य उद्देश्य तरलता व्यवस्थापन हो । यसभित्र थोरै मात्रामा लघुवित्त बैङ्कमा भएको लगानीसमेत रहेको छ । हामीले विदेशका बैङ्कहरूमा विदेशी मुद्रा प्लेसमेण्ट गर्न पाउँछौं । त्यो रकम लगानी पोर्टफोलियोमा देखिन्छ । अहिलेको व्यवस्थाअनुसार बैङ्कहरूले २० प्रतिशत तरल सम्पत्ति राख्नैपर्छ । त्यसमध्ये १५ प्रतिशत सरकारी सुरक्षणमा लगानी गर्नुपर्छ । त्यसो हुँदा पनि हरेक बैङ्कले २५ प्रतिशतजति रकम लगानी पोर्टफोलियोमै राख्छन् । तर, अन्ततोगत्वा बैङ्कहरूको काम भनेको ऋण दिएर ब्याज लिने नै हो । त्यसैले ऋण बढ्नुलाई सकारात्मक रूपमा नै लिनुपर्छ ।

बैङ्कको ब्याजबाट हुने आम्दानी बढेको देखियो । ब्याजबापतको खर्च घटेको छ र खुद ब्याज आय बढेको छ । यसको अर्थ स्प्रेड बढी राखेर नै तपाईंहरूको नाफा उच्च रूपमा बढेको देखिन्छ । यो त नराम्रो प्रवृत्ति भयो नि ?
सम्पत्ति र दायित्वको राम्रो व्यवस्थापनका कारण यसो भएको हो । हामीले लगानी गर्दा जहिले पनि सबैभन्दा राम्रो ब्याजदरमा लगानी गर्ने हो । र, सकेसम्म कम लागतमा स्रोत जुटाउने हाम्रो प्रयास हुन्छ । महँगोमा स्रोत जम्मा गर्न लाग्यौं भने त हामी उल्टो बाटोमा जान्छौं । यसरी कम लागतमा स्रोत जुटाउने र सकेसम्म राम्रो दरमा लगानी गर्दा खुद ब्याज आय बढी देखिन गएको हो । तर, हामी बजारमा प्रतिस्पर्धी पनि हुनैपर्छ र निक्षेप तथा कर्जा दुवैमा प्रतिस्पर्धी नै छौं भन्ने लाग्छ । बजारमा चलिरहेको दरभन्दा अर्को बाटोमा गयौं भने ग्राहक हाम्रोमा आउँदैनन् । ऋणमा हामीले लिने ब्याजदर पनि बजारमा चलिरहेको भन्दा कम नै छ । निक्षेपमा पनि त्यस्तै भएको हुन सक्छ । तर, कम ब्याजदर आए पनि नबिलमै रकम राख्छु भन्ने विश्वास ग्राहकमा भएकाले त्यसले पनि हामीलाई सहयोग गरेको हो भन्ने लाग्छ । यसको केही प्रतिफल हामीले ऋणीलाई पनि प्रदान गरेका छौं, जस्तो कि समग्र बैङ्कले ऋणको ब्याज बढाएको बेला हामीले पुरानै दरमा निरन्तरता दियौं, माथिल्लो दरलाई तल ल्याई न्यून र उच्च दरको फरक कम गर्‍यौं । स्वच्छ व्यापारबाट कमाइले बैङ्कको स्वास्थ्य मजबुत भई समग्र प्रणालीको सुधार हुन जाने हुनाले त्यसलाई राम्रै मान्नुपर्ने हुन्छ भन्ने मलाई लाग्दछ । फेरि यहाँले भनेअनुसार हामी नम्बर १ भएर पनि हाम्रो स्प्रेड दर केही बैङ्कको भन्दा कम नै छ । हाम्रो सिद्धान्त भनेको सहअस्तित्व भएकाले राम्रो या नराम्रो अवस्थामा सबैलाई सँगै राखौं र प्रतिफलको हिस्सामा पनि सबैको सहभागिता होस् भन्ने नै हो ।

तर, बैङ्कहरूले स्प्रेड बढाएर नाफा बढी लिए भन्ने व्यवसायीहरूको आरोप छ नि ?

जति कम ब्याजदरमा ऋण पायो, व्यवसायीको खर्च उति नै घट्छ । त्यसैले बैङ्कहरूले कम ब्याजदरमा ऋण दिऊन् भन्ने चाहना उहाँहरूमा हुनु अस्वाभाविक होइन । तर, बैङ्किङ क्षेत्रमा हेर्‍यौं भने कर्जा लगानीमा अन्य बैङ्कहरूको दर हाम्रोभन्दा बढी नै छ । त्यसो हुँदा व्यवसायीहरूले ऊर्जा, मजदूरलगायतका क्षेत्रको समस्याका कारण बढेको लागत बैङ्किङ क्षेत्रले मात्रै घटाइदिनुपर्छ भन्ने सोचाइ राखिदिनु भएन भन्ने मेरो आग्रह हो । स्प्रेडकै कुरा गर्दा पनि नेपालमा न्यूनतम ३ प्रतिशतदेखि साढे ५ प्रतिशतसम्म स्प्रेड छ । यसलाई उच्च स्प्रेड मान्न सकिन्न । हाम्रोभन्दा राम्रो अवस्था भएका अर्थतन्त्रहरूमा पनि स्प्रेड ५ प्रतिशतभन्दा बढी नै छ । अर्कातिर, हाम्रो अर्थतन्त्र बढी जोखीम भएको अर्थतन्त्र हो । यस्तो अर्थतन्त्रमा जबर्जस्ती दबाब दिएर जोखीमको तुलनामा कम स्पे्रड राख्ने प्रयास गरियो भने बैङ्किङ क्षेत्र नै धराशयी हुने अवस्था आउँछ । त्यसले अन्ततोगत्वा अर्थतन्त्रलाई जोखीममा पार्ने सम्भावना हुन्छ ।

भर्खरै मात्रै एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्रीले बैङ्कहरूबीच प्रतिस्पर्धा भएर उपभोक्ताले फाइदा पाउनुपर्नेमा त्यसो नभएको र एक हिसाबले बैङ्कहरूले मिलेर ब्याजदर तय गर्ने गरेको आरोप लगाउनुभयो । यसमा तपाईं के भन्नुहुन्छ ? 
अहिले मुलुकमा ३२ ओटा वाणिज्य बैङ्क छन् । सबै गरेर २ सयभन्दा बढी वित्तीय संस्था छन् । वित्तीय क्षेत्रमा यति धेरै संस्थाहरू छन् कि उनीहरू मिलेर ब्याजदर तय गर्न सक्ने सम्भावना हुन्छ भन्ने मलाई लाग्दैन । बैङ्कहरू मिलेर ब्याजदर तय गर्ने भनेको सहवित्तीयकरण (कन्सोर्टियम)मा मात्रै हो । बैङ्कहरूले ऋणीको जोखीमलाई हेरेर नै दर तोक्ने हो । त्यसो हुँदा लिनुपर्ने भन्दा कम वा बढी ब्याजदर लिएर बैङ्कले कर्जा प्रवाह गरे भन्ने मलाई लाग्दैन । तर, केचाहिँ सत्य हो भने मूल्यवृद्धि दोहोरो अङ्कमा भइरहेको सन्दर्भमा ८–९ प्रतिशतमा कर्जा प्रवाह गर्दा बैङ्क–वित्तीय संस्था आफै जोखीममा पर्छ । यसो गर्नु उल्टो बाटो हिँड्नुजस्तै हो । उदाहरणका लागि ४ वर्षअघि बैङ्कहरूले ६–७ प्रतिशतमा ऋण दिइरहेका थिए । त्यो तहमा ब्याजदर पुग्नु अनुचित थियो । त्यसो हुँदा बैङ्कले पनि फालाफाल ऋण दिन थाले, जसले पनि ऋण पाउन लागे । त्यही भएर रियल इस्टेट क्षेत्रमा उच्च मूल्यवृद्धि भयो । र, त्यसको धक्का हामीले अहिलेसम्म पनि भोगिरहेका छौं । अर्कातिर, थोरै ब्याजदरमा ऋण लिएका रिटेल ग्राहकहरूले पनि ब्याजदर बढ्दा ऋण तिर्न सक्ने अवस्था रहेन । त्यसले अर्थतन्त्रलाई नै अप्ठ्यारो अवस्थामा पुर्‍याएको छ । त्यसो हुँदा पछिल्लो समयमा सबै बैङ्कले कर्जा तथा लगानीमा ब्याजदर तय गर्दा आफूलाई जोखीम नहुने गरी गर्ने गरेका छन् ।

नेपालका बैङ्कहरू धेरैजसो संस्थागत निक्षेपकर्तामा निर्भर छन्, तपाईंहरूको अवस्था के हो ?
संस्थागत निक्षेपकर्ता हामीसँग नभएका होइनन् तर निक्षेपको प्रकृति हेरी कति निक्षेप लिने, केमा लगानी गर्ने, कसरी व्यवस्थापन गर्ने पाटोमा बढी ध्यान दिनुपर्छ । जसमा हाम्रो रणनीति सफल भएको छ । एउटै ग्राहकमा केन्द्रित हुँदा हुने जोखीमबारे सबै बैङ्क अवश्य नै सचेत छन् र तपाईंले भनेजस्तो जोखीम छजस्तो मलाई लाग्दैन । राष्ट्र बैङ्कले निरीक्षणमा आउँदा यो विषयलाई हेर्ने गर्छ । ३–४ वर्ष अघिदेखि नै यसो गर्न थालिएकाले एउटै निक्षेपकर्तामा केन्द्रित भएर कुनै बैङ्क रहिरहेको छजस्तो मलाई लाग्दैन ।

पछिल्लो समय अन्य बैङ्कहरू आक्रामक रूपमा मोबाइल बैङ्किङ तथा ब्राञ्चलेश बैङ्किङतिर गइरहेका छन् । तर, तपाईंहरूको त त्यस्तो केही देखिँदैन नि ?
मोबाइल र इण्टरनेट बैङ्किङमा हामीले पहिलेदेखि नै काम गरिरहेका छौं । हामी नगएको क्षेत्र भनेको ब्राञ्चलेश बैङ्किङ हो । हरेक बैङ्कले सबै किसिमका सेवा दिनुपर्छ भन्ने छैन । तर, ब्राञ्चलेश बैङ्किङ पनि एउटा राम्रो क्षेत्र हुन सक्छ । यद्यपि, तत्कालै यस क्षेत्रमा जाने सोचाइ भने छैन । यसको अर्थ भोलि यस क्षेत्रमा जाँदै जाँदैनौं भन्नेचाहिँ होइन ।

शाखा सञ्जाल विस्तारको योजना कस्तो छ ? विदेशमा शाखा खोल्दै हुनुहुन्छ कि ?

अघिल्ला २ वर्ष हामीले शाखा सञ्जाल विस्तार गरेनौं । तर, आगामी आर्थिक वर्षमा केही सम्भावित क्षेत्रमा शाखा सञ्जाल विस्तार गर्न सक्छौं । देशबाहिर शाखा खोल्ने विषय पनि योजनाको चरणमा नै छ । यस विषयमा टिप्पणी गरिहाल्नु चाँडो हुन्छ । तर, सबै पक्षमा हामीले सोचाइ भने राखेका छौं । बाहिर कुनै अवसर देख्यौं भने हाम्रो आकार तथा सबलताका हिसाबले पनि जान सक्ने अवस्थामा छौं ।

चालू आवमा राम्रै नाफा आर्जन भइरहेको छ, शेयरधनीहरूले प्रतिफलको पनि राम्रो आशा गरे भो हैन त ?
विगतदेखि नै हामीले राम्रो लाभ दिइरहेका छौं । यो वर्ष पनि अघिल्लो वर्षको तुलनामा राम्रै नाफा आर्जन भइरहेको छ । हामीले यो वर्ष राम्रो लक्ष्य लिएका छौं र त्यो लक्ष्य प्राप्त हुने बाटोमै छौं । त्यसो हुँदा शेयरधनीहरूले लाभांश वितरणमा विगतको परम्परा कायम नहुने हो कि भनेर निराश हुनुपर्ने कुनै कारण छैन ।

चालू आवको अन्त्यसम्ममा वाणिज्य बैङ्कले २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउनुपर्ने म्याद सकिएपछि तत्कालै ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउने तयारीमा राष्ट्र बैङ्क छ । त्यसलाई कसरी लिनुहुन्छ ?
२ अर्ब चुक्ता पूँजी पुर्‍याउनका लागि पनि निश्चित समय दिइएको थियो । त्यसो हुँदा ५ अर्ब पूँजी पुर्‍याउने निर्णय गरियो भने पनि त्यसका लागि निश्चित समय दिइन्छ होला । त्यसो गर्दा बजार विस्तारै त्यसतर्फ जान सक्छ । बैङ्क तथा वित्तीय संस्थाले जोखीमयुक्त सम्पत्तिको ४ दशमलव ५ प्रतिशत कमन इक्विटी टीयर १ क्यापिटल बनाउनुपर्ने व्यवस्था बासेल थ्रीले गरेको छ । सन् २०१३ को जनवरी १ देखि सन् २०१५ को जनवरी १ सम्ममा यो गरिसक्नुपर्ने व्यवस्था छ । त्यसो हुँदा राष्ट्र बैङ्कले चुक्ता पूँजी बढाउनुपर्ने व्यवस्था गर्न सक्छ । तर म पुनः जोड दिन चाहन्छु– नेपालको सन्दर्भमा चुक्ता र कोर क्यापिटललाई भिन्न रूपमा हेर्नु आवश्यक छैन । त्यसो हुँदा अहिलेलाई चुक्ता पूँजी बढाएर ५ अर्ब पुर्‍याउनुपर्छ भन्ने मलाई लाग्दैन ।

पछिल्लो समय नबिलबाट उच्च तहका कर्मचारी बाहिरिने लहर नै चल्यो नि ?
नबिल बैङ्क निजीक्षेत्रको पहिलो बैङ्क भएकाले हामीले दक्ष जनशक्ति उत्पादन तथा दक्ष जनशक्ति कायम राख्नमा शुरूदेखि नै ध्यान दिँदै आएका छौं । तसर्थ, अरू बैङ्कहरूले नबिल बैङ्कका कर्मचारी रोज्ने चलन पुरानै हो । आज पनि कतिपय बैङ्कको उच्च व्यवस्थापनमा नबिल बैङ्कमा काम गरिसकेका कर्मचारी हुनुहुन्छ । नबिल बैङ्कका कर्मचारीले नेपालको बैङ्किङ क्षेत्रको आधुनिकीकरण तथा विकासमा पुर्‍याएको योगदान सम्झँदा मलाई खुशी लाग्छ । यसले एकातर्फ नबिल बैङ्कको गरिमा बढाएको छ भने अर्कातर्फ बैङ्कमा नयाँ ऊर्जा पनि दिँदै आएको छ । जसले गर्दा कुनै पनि व्यक्तिले बैङ्कबाट छुट्टिएर अझ प्रगति गर्ने किसिमको निर्णय गर्‍यो भने त्यसलाई बैङ्कले सधैं सम्मान गर्दै आएको छ । बैङ्कको बलियो संस्थागत संरचना तथा यथेष्ट दक्ष जनशक्तिले बैङ्कमा कुनै व्यक्तिको अभाव महसूस हुन दिएको छैन, जुन नबिल बैङ्कको सबल पक्ष पनि हो ।

No comments:

Post a Comment