Monday, September 5, 2011

डा. भट्टराईका चुनौती

पूर्वअर्थमन्त्री तथा एनेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । अर्शशास्त्री नभए पनि अर्थतन्त्रका बारेमा राम्रो दख्खल राख्ने तथा दीर्घकालीन सोच भएका बौद्धिक नेताको छवि उनले बनाएका छन् । वास्तवमा अहिले देशलाई नयाँ प्रधानमन्त्री चाहिएकै होइन । त्यसैले झलनाथ गए, बाबुराम आए भन्ने अहिले महत्त्वको विषय नै होइन । अहिले देशलाई प्रस्ट दृष्टिकोण, विचार र योजना भएको राजनेता चाहिएको छ । र, एउटा राजनेता हुनका लागि जुनजुन कुरा चाहिन्छ, तिनै डा. भट्टराईका चुनौती छन्, तिनै नयाँ प्रधानमन्त्रीका चुनौती हुन् । प्रधानमन्त्रीका रूपमा उनले देशलाई सुदूर भविष्यसम्मको बाटोमा दिशानिर्देश गर्न सफल भए भने त्यो नै उनको सफलता हुनेछ ।

एउटा राजनेता हुनका लागि वैचारिक स्पष्टता आवश्यक पर्छ । तर, डा. भट्टराईमा त्यो देखिएन । उदाहरणका लागि अहिलेसम्मको परम्परा तोडेर डा. भट्टराईले प्रधानमन्त्री भएपछि नेपालमै बनेको मुस्ताङ गाडी चढ्ने घोषणा गरे । स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने उनको राम्रै उद्देश्य थियो होला । तर, उनले सपथग्रहण गर्दा टल्किइरहेको महँगो पेटी र नेपाली पोशाकको सट्टा विदेशी ब्राण्डको सुटले त्यो घोषणालाई व्यङ्ग्य गरिरहेको थियो । यस कुराले उनलाई प्रचारमुखी र ढोंगीको दर्जामा उभ्याएको छ । एउटा कुरा के स्पष्ट छ भने देशका प्रधानमन्त्रीले मुस्ताङ गाडी चढेर नेपाली जनताको दु:ख हरण हुँदैन । उनले महँगै गाडी चढून तर देश विकासका लागि स्पष्ट दृष्टिकोण र दिशा प्रदान गर्न सके भने यस्ता सामान्य कुरा जनताले बिसन्छन् । उनले थालेको सस्तो गाडी अभियानमा आफ्नै मन्त्रीमण्डलका अन्य सदस्यलाई सहभागी गराउन सक्छन् भन्ने विश्वास गर्न सकिँदैन । सिङ्गो सरकारी संयन्त्रलाई आर्थिक मितव्ययीतर्फअघि बढाउनु निकै ठूलो चुनौती हो ।

अहिले प्रधानमन्त्रीले महँगो गाडी चढे भनेर जनताले त्यति धेरै गुनासो गरेका छैनन् । उनीहरूले त देशको नेतृत्वकर्ताले सबै नेपालीलाई महँगो गाडी चढ्न सक्ने हैसियतमा पुर्याओस् भन्ने अपेक्षा गरेका छन् । त्यस किसिमको दीर्घकालीन सोच देशको नेतृत्वकर्तामा होओस् भन्ने आशा नेपाली जनताले गरेका छन् । यसभन्दा अघिका प्राय: प्रधानमन्त्रीहरूमा त्यस किसिमको सोचको खडेरी नै देखियो । त्यसैले पनि बौद्धिक तथा 'भिजनरी’ नेता मानिएका डा. बाबुराम भट्टराईबाट देशको आर्थिक उन्नतिको सुदूर भविष्यरेखा कोरिन्छ भन्नेमा अपेक्षा गर्नु आस्वाभाविक होइन । जनताको यो अपेक्षा पूरा गर्नका लागि उनले पनि वैचारिक उदात्तता प्रस्तुत गर्न सक्नुपर्छ । सस्तो गाडी चढ्नेजस्ता आडम्बरी कुरामा अल्झिएर बृहत् लक्ष्य पूरा गर्न सकिँदैन । यदि सबै जनतालाई सर्वहारा बनाएर कम्युनिष्ट शासन चलाउने उद्देश्य उनको र उनको पार्टी एनेकपा माओवादीको होइन भने यस्ता वैचारिक दरिद्रताहरूलाई पञ्छाउनै पर्छ ।

अर्थमन्त्री हुँदा डा. भट्टराईले बेरोजगार भत्ता प्रदान गर्ने, स्वरोजगार योजना ल्याउनेजस्ता काम गरेका थिए । तर, यस्ता योजनाले देशमा पर्याप्त रोजगारी सृजना हुँदैन । देशमा रोजगारी बढाउन त तीव्र औद्योगिकीकरण हुनु आवश्यक छ । त्यसका लागि प्रचुर मात्रामा निजी लगानी आउनुपर्छ, वैदेशिक लगानी भित्रनुपर्छ । तर, देशको अर्थतन्त्रका विषयमा माओवादी पार्टीको  अस्पष्ट नीति तथा उसप्रतिको त्रासका कारण लगानी भित्रन सकेको छैन । देशमा औद्योगिक शान्ति कायम गर्नका लागि माओवादी पार्टीकै क्रियाकलाप दोषी छन् । लगानीकर्ताहरू ऊप्रति त्रसित छन् । डा. भट्टराई प्रधानमन्त्री भएकै दिन नेपाली शेयरबजार १० अङ्कले घटेर यसको छनक दिइसकेको छ । यसो हुँदा माओवादी पार्टीले उद्योग-व्यवसायलाई सहयोग र संरक्षण गर्छ, निजी लगानीकर्ताको हित संरक्षण गर्छ भन्ने पटकपटक प्रमाणित गर्नुपर्छ, त्यो धारणालाई स्थापित हुन दिनुपर्छ । आफूले नेतृत्व गरेको सरकारबाट र आफ्नो पार्टीबाट त्यसो गर्नसके भने मात्रै उनी सफल हुन सक्नेछन् ।

डा. भट्टराईले पार्टीभित्रका एकथरि जडवत अर्धशिक्षित जमातको मुढेबल र अर्काथरि टठाबाठाको खुट्टा तान्ने प्रवृत्ति दुवैबाट पार पाउन सक्नुपर्छ । साथै, उनले पार्टीभित्रका गलत चिन्तन र प्रवृत्तिलाई पराजित गर्न तथा पार्टीबाहिरका सही चिन्तनलाई अङ्गीकार गर्न पनि सक्नुपर्छ । अनि मात्रै उनी यस्तो विचार र कार्यपद्धति भएको राजनेता बन्न सक्नेछन्, जसले प्रस्तुत गरेको दृष्टिकोणलाई सबै पक्षले अनिवार्य रूपमा समर्थन गर्नुपरोस्, जसले चालेका कदमलाई सबैले पछयाउनु परोस् । त्यस्तो नेतृत्व र दृष्टिकोण प्रदान गर्न सके भने मात्रै डा. भट्टराई सफल हुन सक्नेछन् । होइन, पार्टीगत सङ्कीर्णता र व्यक्तिगत आडम्बरभन्दा माथि उठ्न सकेनन् भने उनले आफ्ना पूर्ववर्तीले जस्तै सिंहदरबारमा फोटो झुण्डयाउने काम मात्रै गर्नेछन् ।

No comments:

Post a Comment