Wednesday, May 2, 2012

नर्भिक पुगेपछि ज्यान बच्छ भन्ने विश्वास दिएका छौं


वसन्तकुमार चौधरी
अध्यक्ष, नर्भिक इण्टरनेशनल अस्पताल


वसन्तकुमार चौधरी प्रतिष्ठित व्यावसायिक घराना ‘चौधरी ग्रूप’अन्तर्गतका डेढ दर्जनभन्दा बढी औद्योगिक–व्यापारिक प्रतिष्ठानका अध्यक्ष हुन् । गीतसङ्गीत र सामाजिक सेवामा अत्यन्तै धेरै रुचि भएका चौधरीले समाज कल्याण परिषद्, पशुपति क्षेत्र विकास कोषलगायत सामाजिक संस्थामा रहेर समेत काम गरिसकेका छन् । खासगरी पशुपति क्षेत्रलाई अतिक्रमणमुक्त बनाउन उनले शुरू गरेको अभियानले ठूलै प्रशंसा पायो । आफ्ना पितालाई प्रेरणाको प्रमुख स्रोत मान्ने चौधरी पशुपति बिस्कुट उद्योग र पशुपति मैदा मिलबाट नेपालको औद्योगिक क्षेत्रमा प्रवेश गरेका हुन् । तर, दीर्घकालीन रूपमा उनी शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा लगानी केन्द्रित गर्ने सोच राखेर अघि बढिरहेका छन् । नेपालमै विश्वस्तरीय चिकित्सा सेवा दिने उद्देश्यले उनले स्थापना गरेको नर्भिक इण्टरनेशनल अस्पतालले भर्खरै १९ औं वार्षिकोत्सव मनाएको छ । नेपालको चिकित्सा सेवामा यो अस्पतालले एउटा ‘बेञ्चमार्क’ नै स्थापना गरेको उनको तर्क छ । नर्भिक अस्पतालको सेवा, नेपालको स्वास्थ्य क्षेत्रमा निजी लगानीलगायत विषयमा केन्द्रित रहेर आर्थिक अभियानका जनार्दन बरालले चौधरीस“ग गरेको कुराकानीको सार :

नर्भिक अस्पतालले स्थापनाको १९ वर्ष पूरा गरेको छ । अस्पतालको यो इतिहासलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?


नेपालको एउटा व्यापारिक घराना दुई दशकअघि स्वास्थ्यजस्तो सेवा क्षेत्रमा आउँदा धेरैले अचम्म मानेका थिए । तर, यस्तो हुनुमा केही मनोवैज्ञानिक कारणहरू पनि छन् । १३–१४ वर्षको हुँदा मलाई पिसाबसम्बन्धी गम्भीर रोग लाग्यो । नेपालमा त्यसको उपचार गर्न सकिने अवस्था थिएन । भारतको नयाँ दिल्लीमा पनि अहिलेजस्तो सुविधा थिएन । अल इण्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस नै त्यसबेलाको सबैभन्दा ठूलो र राम्रो स्वास्थ्य संस्था थियो । त्यहा मलाई भर्ना मात्रै गराउन पनि मेरो बुबाले निकै ठूलो परिश्रम गर्नुपर्‍यो, डाक्टरको ढोकाढोका चहार्नुपर्‍यो । भर्ना भएपछि पनि मैले रगतको पुरानो टाटो लागेको तन्ना भएको बेडमा दुई दिन बिताउनुपर्‍यो । मलाई त्यतिबेलादेखि नै सामान्य उपचारका लागि पनि किन विदेशमै जानुपर्ने ? हाम्रै देशमा त्यसको व्यवस्था गर्न किन सकिँदैन भन्ने लागिरहेको थियो ।

करीब २० वषअघि मेरो बुबालाई हृदयघात भयो । त्यसबेलामा वीर अस्पतालमा मात्रै आईसीयूको व्यवस्था थियो । बुबालाई सेवा दिने क्रममा त्यहा जुन दुःख गर्नुपर्‍यो, त्यसले पनि अस्पताल खोल्नुपर्छ भनेर मलाई झक्झक्यायो । युवावस्थामा म स्वास्थ्य शिविरहरू लिएर गाउँगाउँमा गए । त्यसबेला विभिन्न चिकित्सकहरूसँग मेरो नजिकको सम्बन्ध रहन गयो । अस्पताल स्थापनाका लागि त्यसले पनि मलाई सहयोग गर्‍यो ।

यो त मानवीय संवेदनाको कुरा भयो । अस्पतालमा यति ठूलो लगानी गरिसकेपछि त्यसको प्रतिफल पनि त खोजिन्छ नि ?


मैले ठूलो नाफा कमाउने उद्देश्यले अस्पताल खोलेको होइन । जुन स्तरको दक्ष जनशक्ति यहा कार्यरत छ, जुन किसिमको लगानी र खर्च छ, कुनै पनि अस्पातालले यसलाई थेग्न सक्दैन । आज यो अस्पतालमा एक जना बिरामी बराबर चिकित्सक र अन्य कर्मचारी गरी औसतमा पाँच जना कार्यरत छन् (बिरामी स्वास्थ्यकर्मी अनुपात १:५ छ) । अहिले यो अस्पतालमा १ सय बेड छन् र ५ सय चिकित्सक र कर्मचारी कार्यरत छन् । वास्तवमा यो अनुपात भनेको कुनै पनि अन्तरराष्ट्रिय अस्पतालको भन्दा निकै राम्रो हो । भारतमा पनि निकै राम्रो कर्पोरेट अस्पतालमा एक बिरामी बराबर दुई–साढे दुई स्वास्थ्यकर्मी हुन्छन् । हामीले यहा व्यक्तिगत सेवा दिइरहेका छौं । आफूलाई स्वास्थ्य सेवा लिनुपर्दा म के खोज्छु भन्ने सोचेर त्यही किसिमको सेवा हामीले प्रदान गरिरहेका छौं । र, त्यसैको परिणामस्वरूप ‘नर्भिक पुग्न पाइयो भने ज्यान चाहिँ जोगिन्छ है’ भन्ने विश्वास सर्वसाधारणलाई दिलाउन सफल भएका छौं । वास्तवमा यसबाट मैले कमाएको सम्पत्ति भनेको त्यही एउटा विश्वास हो ।

यो अस्पताललाई तपाईंहरूले पाँचतारेको संज्ञा दिनुभएको छ । त्यसरी मूल्याङ्कन गर्ने आधार के हो ?

अस्पताललाई त्यस रूपमा प्रमाणित गरिदिने कुनै निकाय छैन । तर, जसरी पाँचतारे होटलमा छिरेदेखि नै त्यहाको सेवा–सुविधा व्यवस्थित र व्यावसायिक तरीकाबाट प्रदान गरिन्छ, त्यही स्तरको सेवासुविधा प्रदान गरिएको हुनाले यसलाई पाँचतारे भनिएको हो । अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी तथा चिकित्सकको व्यवहार, पूर्वाधार र उपकरणको अवस्थालगायत आधारमा त्यसो भनिएको हो ।

नर्भिक अस्पताललाई आममानिसले साधारणभन्दा पनि विशिष्टीकृत (स्पेशलाइज्ड) अस्पतालका रूपमा बुझ्ने गरेका छन् । यथार्थ त्यस्तै हो ?

यो बहुविशिष्टीकृत (सुपरस्पेशलाइज्ड) अस्पताल हो । पहिले हामीले मुटुरोगलाई केन्द्रित गरेर नै सेवा शुरू गरेका थियौं । मानिसहरूमा अहिलेसम्म पनि त्यो छाप बसिरहेको छ । तर, अहिले मुटुरोग, स्त्रीरोग, बालरोग, अन्य शल्यक्रियालगायत हरेक क्षेत्रमा नेपालका सबैभन्दा राम्रा चिकित्सकहरू हामीसँग हुनुहुन्छ । त्यसैले गर्दा नै नर्भिक एउटा विश्वसनीय स्वास्थ्योपचारको थलो बनेको छ । म दावाका साथ भन्छु– नर्भिकको आकस्मिक सेवा नेपालभरमा सबैभन्दा राम्रो छ । मेरो संस्था भनेर मैले त्यसो भनेको होइन । हामी यसमा पूर्वाधारसम्पन्न छौं, जस्तोसुकै आकस्मिक स्थिति सृजना भए पनि हामी उपचार गर्न सक्छौं । त्यसभन्दा पछिको उपचारमा पनि हामी विश्वस्तरीय सेवा प्रदान गर्न सक्षम छौं ।

अस्पतालका आगामी योजनाहरू केके छन् ?

पहिलो त हामी नर्भिक अस्पतालमा १ सय बेड थपेर २ सय बेड क्षमताको बनाउ“दै छौं । दोस्रो, मैले यो १९ वर्षको यात्रामा के अनुभव गरें भने आफूलाई कस्तो किसिमको जनशक्ति चाहिन्छ, त्यो आफूले उत्पादन नगरीकन हुँदैन । अहिले नर्भिक एउटा ट्रेनिङ सेण्टरजस्तो पनि भएको छ । यहा केही समय मात्रै काम गरेका नर्स वा डाक्टरलाई अन्य अस्पतालले प्राथमिकताका साथ लिने गरेका छन् । वा, विदेश जानुपर्‍यो भने नर्भिकमा काम गरेको प्रमाणपत्र नै पर्याप्त हुने गरेको छ । हामीले जुन स्तरको विश्वास आर्जन गरेका छौं, त्यसलाई सकारात्मक रूपमा लिएका छौं । तर, हामीलाई पनि त जनशक्ति चाहियो । त्यसैले आफूलाई आवश्यक जनशक्ति आफैले उत्पादन गर्नुपर्छ भनेर हामीले ३ वर्षदेखि नर्सिङ कलेज सञ्चालन गरिरहेका छौं । अब हामी पूर्णस्तरको मेडिकल कलेज सञ्चालनको तयारीमा छौं ।

यो मेडिकल कलेज कहिलेसम्म सञ्चालनमा आउँछ ?


यो सञ्चालनमा आउन २ वर्ष लाग्छ । यसका लागि हामीले भारतको मेदान्त द मेडिसिटीसँग प्राविधिक सहकार्य गरेका छौं । डा. नरेश त्रेहान यसका संस्थापक प्रमुख हुनुहुन्छ । १ हजार ६ सय शह्याको यो अस्पताल भारतको सबैभन्दा आधुनिक अस्पताल हो । आगामी दुई हप्तामा यसका प्रमुखलगायत सम्पूर्ण विभागीय प्रमुखहरू नेपाल आउँदैछन् । त्यसबखत नर्भिकमा एक स्वास्थ्य शिविर पनि सञ्चालन गर्नेछौं । त्यही अवसर पारेर यो मेडिकल कलेजको योजना सार्वजनिक गर्नेछौं ।

यो मेडिकल कलेजको लागत र क्षमता कति हुन्छ ?

यसले एक शैक्षिक सत्रमा १ सय ५० विद्यार्थीलाई अध्ययन गराउनेछ । त्यसको क्लिनिकल अभ्यास गर्ने स्थान नर्भिक अस्पताल नै हुनेछ । मेडिकल कलेज, सामुदायिक अस्पताल र पुनःस्थापना केन्द्र मुख्य अस्पतालको १० किलोमिटरभित्र हुनुपर्ने सरकारको नियम छ । त्यसो हुँदा हामीले मेडिकल कलेज सीतापाइलाभन्दा माथि रामकोटमा स्थापना गर्दैछौं । यसमा रू. २ अर्ब रुपैयाँ लगानी हुनेछ ।

त्यसपछिका दीर्घकालीन योजना चाहि के छन् ?

नर्भिकको जुन स्तरको सेवा र विश्वसनीयता छ, त्यसलाई काठमाडौंमा मात्रै सीमित गर्नु राम्रो होइन । त्यसलाई मुलुकका विभिन्न भागमा विस्तार गर्नुपर्नेछ । त्यसैले नर्भिकको सेवालाई विभिन्न शहरहरूमा विस्तार गर्ने सोच मैले बनाएको छु । नेपाललाई स्वास्थ्य पर्यटनको गन्तव्य बनाउनुपर्छ भनेर मैले काम गरिरहेको छु । नेपालको हावापानी, यहाका मानिसहरूको व्यवहार त्यो यो क्षेत्रका लागि अत्यन्त आकर्षक पक्ष हुन् । त्यसैले नेपाललाई स्वास्थ्य पर्यटनको राम्रो गन्तव्यका रूपमा विकास गर्न सक्छौं, भन्ने मेरो दृष्टिकोण छ ।

अहिले पनि मानिसहरू उपचारकै लागि विदेश जाने र देशको पूँजी पलायन हुने स्थिति कायमै छ नि ?


हरेक किसिमका रोगको उपचार यहा हुन्छ भनेर म दाबी गर्दिन । एकादुई रोगका लागि बाहिर पनि जानुपर्ला । भारतमै पनि सबै रोगको उपचार हुन सक्दैन । तर, नेपालमा चाहिँ यहीँ उपचार हुन सक्ने रोगका लागि समेत बाहिर जाने प्रवृत्ति छ । त्यसो गर्नेहरू विशेषगरी दुई किसिमका छन् । एकथरि, प्रचूरमात्रामा वित्तीय स्रोत भएकाहरू छन्, जो हाछ्य आए पनि विदेशमै उपचार गर्न जान्छन् । तर, सबैभन्दा चिन्ता लाग्दो स्थिति कहानेर छ भने जनताले तिरेको कर उपयोग गरेर बसेका सरकारी अधिकारीहरू ससानो उपचारका लागि पनि मुलुक बाहिर जाने गर्छन् । यसबाट पहिलो त करदातालाई अन्याय भएको छ किनभने नेपालमै हुने उपचारका लागि उच्चपदस्थलाई विदेश पठाउन कर तिरिएको होइन । दोस्रो–यसबाट लामो अनुभव हासिल गरेर बसेका नेपाली चिकित्सकहरूको मनोबल गिराउने काम भइरहेको छ, जब नीतिनिर्माताहरूले नै आफ्नो देशको स्वास्थ्य सेवाप्रति विश्वास दर्शाउन सक्दैनन् भने यो क्षेत्र कसरी अघि बढ्न सक्छ ? म मेरो अस्पतालमा उपचार नगराएर अन्यत्र जान्छु भने अरूले यसलाई कसरी विश्वास गर्ने ? त्यसैले यहीँ उपचार गर्न सकिने रोगका लागि बाहिर जाने सरकारी ओहोदाका व्यक्तिहरूका सन्दर्भमा राष्ट्रले संवेदनशील भएर सोच्नुपर्छ । किनभने देशबाट अर्बौं रुपैयाँ उनीहरूकै माध्यम भएर बाहिरिएको छ ।

तर, नेपालभित्र विश्वसनीय उपचार हुन्छ भनेर जनतामा विश्वास दिलाउने काम पनि त सेवाप्रदायकको हो नि ?

त्यसो गर्ने काम निजीक्षेत्रले गरेको छ र उपचारकै लागि विदेश जानेक्रम धेरै हदसम्म घटिसकेको छ । एउटा सामान्य उपचारका लागि बाहिर जानुपर्ने अवस्था अहिले छैन । अनावश्यकरूपमा विदेश उपचारमा जाने परम्पराले ठूलो लगानी भइरहेको र विकसित भइसकेको स्वास्थ्य क्षेत्रको तेजोबधमात्र गर्छ । यो कुरा सर्वसाधारणले बुझ्न थालेका छन् ।

देशको स्वास्थ्य क्षेत्रमा सरकार र निजीक्षेत्र दुवैको लगानी छ । गुणस्तरको कुरा गर्ने हो भने निजीक्षेत्र निकै अघि र सरकार पछि रहेको अवस्था छ । तर, पनि निजीक्षेत्र सोचेजति इमानदार र प्रतिबद्ध नभएको हो कि भन्ने पनि देखिदै आएको छ नि ?

नेपालमा खुलाबजार अर्थनीतिको नाममा निर्णय गर्ने जुन प्रक्रिया छ, त्यसमा त्रुटि छ । कुनै पनि वस्तु र सेवा मुलुकका लागि कति आवश्यक पर्छ, त्यसको लेखाजोखा नीतिनिर्माताहरूले गर्नुपर्छ । होइन भने त्यसमा विकृति भित्रन्छ । स्वास्थ्य क्षेत्रमा पनि सोही कुरा लागू हुन्छ । स्वास्थ्य क्षेत्रमा निजीक्षेत्रको लगानी निकै ठूलो मात्रामा भइरहेको छ, तर त्यो केन्द्रीकृत छ । काठमाडौंभन्दा ५० किलोमिटर बाहिर गयौं भने एउटा ट्याब्लेट किन्न नपाउने स्थिति छ । यसले भोलिका दिनमा असहज स्थितिको सृजना गर्नेछ । यस सम्बन्धमा सरकारको दृष्टिकोण पनि स्पष्ट छैन । सरकारले यस सम्बन्धमा एउटा बलियो मापदण्ड पनि बनाउन सकेको छैन ।

अर्कातिर, सरकारले सरकारी र निजी अस्पतालका विषयमा दोहोरो मापदण्ड कायम गरेको छ । सरकारी अस्पतालहरूले जस्तोसुकै स्तर कायम राखे पनि हुन्छ । तर, निजीक्षेत्रको अस्पतालमा सानो त्रुटि भयो भने तीललाई पहाड बनाइन्छ । म दाबीका साथ भन्छु, स्वास्थ्यमा निजीक्षेत्रले लगानी नगरेको भए सानोभन्दा सानो रोगका लागि पनि नेपालीहरू विदेश जानुपर्ने अवस्था आउँथ्यो । अहिले ९० प्रतिशत स्वास्थ्यसम्बन्धी सेवाको भार निजीक्षेत्रले थेगिदिएको छ । यो कुरालाई सरकारले स्वीकार गर्नुपर्‍यो । निश्चित रूपमा निजीक्षेत्रले गरेका क्रियाकलापको अनुगमन र नियमन सरकारले गर्नुपर्छ । सबै स्वास्थ्यसंस्थाहरूलाई एउटै दृष्टिबाट हेर्नुहुँदैन । आकार गोलो भन्नेबित्तिकै स्याउ र आलु एउटै हुँदैन । सरकारको दृष्टिदोष यहीँनेर छ । सरकारले गलत र सही छुट्ट्याउनै नसकेको अवस्था छ ।

दीर्घकालीन रूपमा स्वास्थ्य क्षेत्रमा सरकार र निजीक्षेत्रको लगानी समानान्तर रूपमा जान सक्ने अवस्था छ कि छैन ?

विश्वव्यापी रूपमा नै स्वीकारिएको कुरा के हो भने, सरकारको काम आधारभूत स्वास्थ्य सुविधा प्रदान गर्नु हो । विशेषज्ञ सेवा उपलब्ध गराउने काम सरकारको होइन । यस्तो सेवा सरकारले एक स्थानमा उपलब्ध गराउने अर्को स्थानमा नगराउने भनेर हुँदैन । कि त सरकारले सबै स्थानमा विशेषज्ञ सेवा उपलब्ध गराउन सक्नुपर्‍यो होइन भने त्यसको जिम्मा निजीक्षेत्रलाई दिनुपर्‍यो । र, निजी क्षेत्रको सेवामाथि प्रभावकारी ढङ्गबाट अनुगमन र नियमन गर्नुपर्छ । निजीक्षेत्रलाई ओझेलमा पार्ने गरी कुनै एउटा क्षेत्रमा सरकारले लगानी गर्न मिल्दैन । त्यो जनताले तिरेको करको दुरुपयोग हो । यस हिसाबले यस क्षेत्रमा सरकार र निजीक्षेत्र दुवैको उपस्थिति हुनुपर्छ ।

‘चौधरी ग्रूप’को व्यवस्थापन मोडलका बारेमा बताइदिनोस् न ।


चौधरी ग्रूप एउटा छाता हो । त्यो छाताको बिँडलाई हामी तीन जना दाजुभाइले समातेका छौं, त्यो ओढेका छौं । तर, हामी तीनै जना दाजुभाइको आआफ्नो व्यक्तित्व, व्यवसाय, उद्देश्य र क्रियाकलापहरू छन् । र, आआफ्ना उद्देश्यअनुसारका क्रियाकलाप गर्नका लागि तीनै जना स्वतन्त्र छन् । तर, एकले गरेको व्यापार अरूले नगर्ने भन्ने हामीबीचको सहमति छ । चौधरी ग्रूप भनेको मेरो बुबाले स्थापना गरिदिनुभएको एउटा सिद्धान्त हो । मुलुकलाई लुट्नुहुन्न, जुन मुलुकबाट तिमीहरूले कमाएका छौं, त्यसलाई घात गर्नुहुन्न, जुन माटोमा हुर्किइएको छ, त्यसलाई सिञ्चन गर्नुपर्छ भन्ने उहाको सिद्धान्त हो । त्यही सिद्धान्तलाई हामीले अ“गालेका छौं ।

तपाईंको दीर्घकालीन लगानी कुन क्षेत्रमा हुँदै छ ?

मैले शिक्षा र स्वास्थ्य दुईओटा क्षेत्रलाई प्राथमिकता दिएर अघि बढाउने सोच लिएको छु । शिक्षा क्षेत्रमा पनि हामी स्वास्थ्य शिक्षामा मात्रै केन्द्रित हुँदैनौं । उद्योगकै क्षेत्रमा पनि पनि मेरा जति उद्योगहरू सञ्चालन छुन् ती प्रत्यक्ष रूपमा जनतासँग जोडिएका छन् । मेरा प्रायः सबै उद्योगहरू कृषिजन्य छन् र कृषकसँग मिलेर काम गर्छु । अब केन्द्रित हुने सोच बनाइएका क्षेत्रहरू स्वास्थ्य र शिक्षा पनि प्रत्यक्ष रूपमा जनतासँग जोडिएका विषय हुन् । जनतासँग प्रत्यक्ष रूपमा जोडिनु मेरो रुचिको विषय पनि हो ।

No comments:

Post a Comment