
नलिन मन्दिरत्ता
महाप्रबन्धक, सोल्टी क्राउन प्लाजा, काठमाडौं
सोल्टी क्राउन प्लाजामा काम शुरू गर्नुभएको छ, नेपालमा काम गर्दा कस्तो अनुभव गरिरहनुभएको छ ?
यहाँ काम गर्दा मैले निकै रमाइलो अनुभव गरिरहेको छु । हामीसँग जुन किसिमको सम्पदा छ र हामीले जुन प्रकारको व्यवसाय गरिरहेका छौं, त्यो निकै नै राम्रो छ । हामीले यहाँ जस्तो व्यावसायिक प्रदर्शन गरिरहेका छौं, त्यो निकै नै सकारात्मक छ । त्यसैले मैले यहाँ काम गर्न पाउनुलाई एउटा राम्रो अवसरका रूपमा लिएको छु ।
सोल्टीमा तपाईंका नयाँ योजनाहरू के छन् ?
हामीले आगामी योजनामा दुईओटा पक्षलाई केन्द्रमा राखेका छौं– पहिलो– प्रडक्ट र दोस्रो– सेवा । प्रडक्टका सुधारको योजनाका विषयमा अहिले पनि काम भइरहेको छ । हामीले पुरानो सम्पदाको संरक्षण गर्ने र नयाँ सुधारको काम सँगसँगै लैजानेछौं । कोठा र रेष्टुराँलाई अझै आधुनिक बनाउँदै छौं । त्यसमध्ये केही क्षेत्रको पुनर्निर्माणको काम भइसकेको छ । त्यस्तै होटलको ‘हिमालय विङ’लाई केही समयमा नै पुनर्निर्माण गर्दै छौं । आगामी वर्षभित्रमा त्यो पूरा हुने विश्वास हामीले लिएका छौं । हामीले केही महीनाअघि मात्रै टेरस गार्डेन रेष्टुराँको पुनर्निर्माण सम्पन्न गर्यौं । जुन महीनाको मध्यबाट नै हाम्रो चिनियाँ रेष्टुराँ पुनर्निर्माणको कार्य शुरू हुनेछ । समग्र मेनुलाई नै नयाँ अवधारणामा लैजाने प्रक्रियामा पनि छौं । इटालियन अल्फ्रेस्को र इण्डियन काकोरीजस्ता रेष्टुराँको मेनुलाई सुधार गर्दै छौं । यसबाट हामी अझै बढी ग्राहकको नजिक पुग्ने आशा लिएका छौं । सेवाक्षेत्रमा हामी हाम्रा कर्मचारीहरूलाई तालीम प्रदान गर्ने तथा वृत्ति विकासका काममा केन्द्रित भइरहेका छौं । यसबाट उनीहरूले अहिलेभन्दा उच्चस्तरीय सेवा प्रदान गर्न सक्नेछन् ।
यी सुधारका कामहरू कहिले सम्पन्न भइसक्नेछन् ?
यो लामो र निरन्तर प्रक्रिया हो । यसले निकै राम्रो परिणाम दिइरहेको छ र आगामी दिनमा पनि त्यहीअनुसारको आशा गरेका छौं । वास्तवमा अहिलेको सुधारको प्रक्रिया सन् २०१३ को मध्यसम्म पूरा हुने आशा लिएका छौं ।
१० वर्ष लामो द्वन्द्वका कारण थिलथिलो बनेको नेपालको पर्यटन क्षेत्र अझै पनि पूर्णरूपमा सुधारिइसकेको छैन । यसलाई अन्तरराष्ट्रिय पर्यटन बजारमा स्थापित गराउन तपाईंको योगदान के हुन्छ ?
हामीले काठमाडौंको आतिथ्य सत्कार उद्योग (हस्पिटालिटी इण्डष्ट्री)मा एउटा ‘बेञ्चमार्क’ स्थापना गरेका छौं । यस क्षेत्रमा विगतमा हामीले धेरै कुरा गरिरहेका छौं र धेरै कुरामा हामी अग्रणी पनि हौं । निश्चय नै अहिले यो उद्योगको विकास तीव्र गतिमा भइरहेको छ । अन्य क्षेत्रको विकास पनि केही हदसम्म भई नै रहेको छ । तर, राजनीतिक अस्थिरताका कारण त्यसमा केही असर परेको छ । पर्यटन क्षेत्रको व्यवसाय होटल, हवाई सेवा र ट्राभल–टूर एजेन्सी तीनओटै क्षेत्र द्वन्द्वका कारण प्रभावित बनेका थिए । तर, विगत केही वर्षदेखि यस क्षेत्रको विकास सन्तोषजनक नै रहेको छ । अघिल्ला केही वर्षको प्रवृत्ति हेर्दा पनि यी क्षेत्रले निकै राम्रो प्रदर्शन गर्न सक्ने देखिएको छ । सन् २०१० मा केही राम्रो भयो, त्यसभन्दा राम्रो २०११ मा भयो । सन् २०१२ मा त्यसभन्दा पनि राम्रो हुन्छ भन्ने विश्वास छ । यो होटलको मात्रै होइन, समग्र क्षेत्रकै प्रवृत्ति हो ।
त्यसो भए तपाईं निकै आशावादी हुनुहुन्छ ?
अवश्य नै म धेरै सकारात्मक छु । किनभने विगत २–३ वर्षको प्रवृत्ति हेर्ने हो भने यो क्षेत्रको विकास निकै सकारात्मक दिशामा भइरहेको छ । यो प्रवृत्तिबाट के भन्न सकिन्छ भने आगामी केही वर्ष पनि यहीस्तरमा पर्यटन उद्योगको विकास हुनेछ । वास्तवमा त्यसबाट काठमाडौं मात्रै होइन, मोफसलमा पनि पर्यटन क्षेत्रमा निकै नै चासो देखिन थालेको छ । ती क्षेत्रमा धार्मिक तथा बिदा पर्यटनको विकासका सम्भावनाहरू देखिएका छन् । मानिसहरू अमेरिकी, यूरोपेली बजारमात्रै होइन, भारतीय र चिनियाँ बजारबाट समेत पर्यटनहरू आकर्षित गर्न लागिपरेका छन् । यस क्षेत्रमा निकै नै धेरै व्यवसाय शुरू भएका छन् । यो सबै एकै समयमा भइरहेको छ र यसले आगामी केही समयभित्रै नेपालको पर्यटन क्षेत्रमा निकै ठूलो विकास हुने सङ्केत गर्छ ।
पर्यटन नेपालको विकासका लागि निकै नै महत्वपूर्ण क्षेत्र हो । यदि राजनीतिक स्थिरता भयो भने यो क्षेत्रको विकास निकै राम्रो हुन सक्छ । त्यसो हुँदा होटल, ट्राभल एण्ड टूर र एयरलाइन्स तीनओटै क्षेत्र त्यसबाट लाभान्वित हुनेछन् ।
अन्य ठूला होटलको तुलनामा सोल्टीको अक्युपेन्सी दर कम रहेको भनिन्छ । यथार्थ के हो ?
सबैभन्दा पहिला त म तपाईंको भनाइप्रति सहमत छैन । सोल्टी क्राउन प्लाजा काठमाडौंको अक्युपेन्सी औसत दरमा नै छ । आधारभूत प्रतिस्पर्धाको हिसाबले हेर्दा हामी सबैभन्दा अगाडिका दुईओटा होटलमध्ये एक हौं । प्रतिकोठा आम्दानीका हिसाबले हामी बजारको नेतृत्वकर्तामध्येमा एक हौं । यी दुईओटा बजार प्रदर्शन सूचकाङ्क हुन् । आगामी दिनमा हामीले होटलको अक्युपेन्सी र प्रतिकोठाको औसत दरबीच सन्तुलन मिलाउनुपर्नेछ । समग्र बजारको अवस्था हेरेर त्यसो गरिनेछ, न कि एक–दुईसँगको प्रतिस्पर्धालाई हेरेर ।
कर्पोरेट, लिजर, माइस, ग्रूप– सबै किसिमको पर्यटन व्यवसायलाई सन्तुलन कायम गर्ने गरी हामी अघि बढ्नेछौं । किनभने यी सबै प्रकारका ग्राहकहरू हाम्रा लागि उत्तिकै महत्वपूर्ण छन् । हामीसँग निकै नै राम्रा प्रडक्टहरू छन् । प्रडक्टका हिसाबले मात्रै होइन, सेवाका हिसाबले पनि हामी उत्कृष्ट छौं । वास्तवमा होटलको आत्मा भनेकै यहाँ काम गर्ने कर्मचारी र उनीहरूले प्रदान गर्ने सेवा हो । त्यसैले उच्चस्तरीय सेवाका लागि हामी सदैव प्रतिबद्ध छौं । हामीले कुनै पनि प्रकारको बजार नपाउनुपर्ने कुनै कारण पनि म देख्दिनँ । त्यसैले सबै क्षेत्रलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ भन्ने मलाई लागिरहेको छ । यी सबै प्रकारको बजारमा राम्रो हिस्सा बनाउन सक्यौं भने हामी निश्चय नै यस क्षेत्रको नेतृत्वकर्ता बन्न सक्नेछौं ।
तपाईंले बजारका सबै क्षेत्रलाई बराबरी महत्व दिने भन्नुभयो । तर, विगतदेखि नै ‘माइस टुरिज्म’ सोल्टीको विशेषता बन्दै आएको छ । यस क्षेत्रलाई अझ बलियो बनाउन तपाईंको योजना के छ ?
माइस टुरिज्मको ठूलो सम्भाव्यता छ । भारत, चीन तथा तेस्रो देशबाट मात्रै होइन, स्थानीय रूपमा पनि माइस टुरिज्मको सम्भाव्यता छ । इन्सेण्टिभहरू, कर्पोरेट पार्टीहरू, प्रदर्शनीहरू र स्थानीयस्तरमा लञ्चहरू पनि निकै भइरहेका छन् । कुनै पनि ठूला होटलले यसबाट राम्रो व्यवसाय गर्न सक्छन् । यो वास्तवमा ब्याङ्क्वेट र कोठासँग मात्रै सम्बन्धित क्षेत्र होइन । वास्तवमा यो कुनै पनि होटलको निकै राम्रो नाफा दिने किसिमको व्यवसाय हो । यो क्षेत्रमा हाम्रो राम्रो बजार हिस्सा छ, तर यसलाई थप राम्रो बनाउनका लागि पनि काम गरिरहेका छौं । यस क्षेत्रमा केही सुविधा थप्ने हाम्रो योजना छ । केही समयपछि नै हामी बैठकस्थलहरू थप्दै छौं । त्यसका लागि यहाँ अन्य पूर्वाधारहरूको समेत विकास गर्नेतर्फ सोचिरहेका छौं, जसबाट अझ बढी माइस टुरिष्टलाई आकर्षित गर्न सकियोस् । यो काम आगामी केही वर्षहरूमा सम्पन्न हुनेछ ।
नेपालमा आउने अन्तरराष्ट्रिय पर्यटन बजारमा आएको परिवर्तनलाई दृष्टिगत गरी सोल्टीले यूरोप तथा अमेरिकाबाट आफूलाई भारत र दक्षिण–पूर्वी एशियामा केन्द्रित गरेको छ । यस विषयमा तपाईंको छुट्टै बजार रणनीति के छ ? निश्चय नै हामीले बजारको प्रवृत्तिअनुसार नै चल्नुपर्छ । तपाईंले भनेजस्तै भारत, चीन तथा अन्य दक्षिणपूर्वी एशियाली देशहरू राम्रो पर्यटन उद्गम बजार बनेका छन् । भारतको नयाँ दिल्लीस्थित फराह होटलमा हाम्रो क्षेत्रीय कार्यालय छ । दिल्ली, मुम्बई, कोलकाता, बैङ्गलोरजस्ता प्रमुख भारतीय शहरहरूमा त्यसमार्फत हामीले बजारीकरण गरिरहेका छौं । चीन पनि ठूलो पर्यटन उद्गमस्थल हो । हामीले विगत २ वर्षदेखि त्यहाँ पनि विभिन्न क्रियाकलापहरू गरिरहेका छौं ।
ट्राभल एजेन्सीहरूले होटललाई दर घटाउनका लागि निकै दबाब दिन्छन् भन्ने कुरा सुनिन्छ, यस किसिमको वातावरणलाई सम्बोधन गर्न तपाईंस“ग के योजना छन् ?
हाम्रोमा त्यस्तो समस्या छैन । अन्यमा त्यसो पनि भएको हुन सक्छ, त्यसमा म टिप्पणी गर्न चाहन्नँ ।
एलएसजी स्काईसेफका विषयमा कुनै नयाँ योजनाहरू छन् कि ?
यो हाम्रो राम्रो नाफा दिने एकाई (युनिट) हो । यहाँ आन्तरिक तथा बाह्य उडानमा निकैओटा हवाई सेवा कम्पनीहरू छन् । तर, नेपालमा रहेको ‘हवाई क्याटरिङ’ सेवा प्रदायक हाम्रो स्काईसेफमात्र हो । त्यसैले यसलाई सशक्त बनाउनुपर्छ भनेर हामीले सोचिरहेका छौं । यो सेवालाई हामी चार्टर उडानमा समेत पुर्याउनेतर्फ सोचिरहेका छौं । आगामी दिनमा अन्य केही एयरलाइन्सहरू सञ्चालनमा आउँदै छन् । उनीहरूको रोजाइमा पनि नेपालको एकमात्र यो सेवा पर्नेछ भन्ने विश्वास छ । हामीसँग निकै ठूलो क्षमता पनि छ । हामी आगामी दिनमा आउने एयरलाइन्सहरूलाई पनि सेवा दिन सक्षम छौं । हामी एक दिनमा ३ हजार ५ सयसम्म हवाई यात्रुलाई खाना खुवाउन सक्षम छौं । अहिले हामी २ हजार यात्रुलाई यस्तो सेवा दिइरहेका छौं । यदि भोलि एयरलाइन्स बढे भने पनि सेवा दिन हामी तयार छौं ।
नेपाल आउने धेरै पर्यटकहरू (ग्रूप) समूहमा आउँछन् । तर, सोल्टीले ‘कर्पोरेट’ ग्राहकलाई बढी प्राथमिकता दिएको बताइन्छ, ग्रूपमा आउने पर्यटकलाई सम्बोधन गर्न कस्ता योजना छन् ?
होइन । हामीले सबै प्रकारका पर्यटकलाई समान महत्व दिएका छौं । वास्तवमा नेपालको पर्यटन बजार कुनै एक वा दुई प्रकारका पर्यटक मात्रै आउने किसिमको होइन । त्यसैले सबै प्रकारका पर्यटकको आवश्यकता पूरा गर्नका लागि हामी तयार हुनुपर्छ । वास्तवमा ग्रूप पर्यटक स्थानीय ट्राभल एजेन्सीहरूले ल्याइरहेका हुन्छन् । उनीहरूका लागि समेत हामीसँग आकर्षक प्याकेजहरू छन् । ट्राभल एजेन्सीहरूले कस्ता प्रकारका प्याकेजहरू माग गर्छन्, त्यहीअनुसार हामी बनाउने गर्छौं । जुनसुकै देशबाट आउने जस्तासुकै पर्यटक ग्रूपको माग पूरा गर्नका लागि पनि हामी स्थानीय ट्राभल एजेन्सीहरूसँग काम गरिरहेका छौं ।
नेपालमा चलिरहेको बन्दहड्तालले यस क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?
होटलका लागि बन्द त्यति धेरै प्रतिकूल भएको छैन । भाग्यवश पर्यटक चढ्ने सवारीसाधनलाई बन्दकर्ताहरूले त्यति धेरै अवरोध सृजना गरेका छैनन् । त्यसैले नेपाल आउने पाहुनाहरूले त्यति धेरै दुःख पाउने गरेका छैनन् । तर, बन्दका कारण समग्र व्यवसायमा केही न केही नकारात्मक असर त परिहाल्छ नि ।
होटललगायत पर्यटन क्षेत्रमा लगानीको सम्भाव्यता कस्तो देख्नुहुन्छ ?
वास्तवमा यस क्षेत्रमा नेपालमा विराट सम्भावना छ । विगत ४–५ वर्षदेखि वातावरण राम्रो बनेको छ । व्यापार–व्यवसाय बढेको छ । भारत तथा चिनियाँ पर्यटकहरूलाई नेपाल भित्र्याउन सक्ने ठूलो सम्भावना छ । यसो हुँदा नयाँ होटलहरूको स्थापना वा यस क्षेत्रमा लगानीको आवश्यकता बन्दै गएको छ । काठमाडौंमा मात्रै होइन, मोफसलका अन्य पर्यटकीय क्षेत्रमा समेत राम्रा होटलमा लगानी गर्नु प्रतिफलमुखी नै हुनेछ । ठूला भन्दा पनि मध्यमस्तरका होटल अहिले आवश्यक बन्दै गएका छन्, जुन बढी प्रतिफलमुखी समेत हुनेछन् ।
नेपाल सरकारले यो वर्षलाई लुम्बिनी भ्रमण वर्षका रूपमा घोषणा गरेको छ । नेपालमा धार्मिक पर्यटनको सम्भाव्यतालाई कसरी हेर्नुभएको छ ?
नेपालमा धार्मिक पर्यटनको सम्भाव्यता निकै ठूलो छ । हिन्दू र बुद्ध धर्म विश्वकै धेरै मानिसले मान्ने धर्म हुन् । भारत तथा चीन सबैभन्दा धेरै हिन्दू र बौद्ध धर्मावलम्बी बस्ने देश हुन् । धार्मिक पर्यटनका लागि भारतबाट प्रशस्त समूहहरू हरेक वर्ष आउने गरेका छन् । नेपालमा भगवान् बुद्धको जन्म भएको हुँदा चिनियाँ बौद्धमार्गी पर्यटकलाई यहाँ ल्याउन सकियो भने यो उद्योगले निकै ठूलो फड्को मार्न सक्नेछ ।
नेपाली आर्थिक वर्षको अन्त्यतिर तपाईंमा सोल्टीमा आबद्ध हुनुभएको छ । तपाईंबाट पुरस्कारका रूपमा शेयरधनीहरूले के कुराको आशा राख्दा हुन्छ ?
हाम्रो व्यवसाय राम्रो छ र त्यहीअनुसारको प्रतिफल पनि प्राप्त गरिरहेका छौं । आर्थिक वर्ष सकिन अझै केही समय बाँकी छ । त्यसैले हेरौं– हामीले राम्रो व्यवसाय गरिरहेका छौं भने शेयरहोल्डरलाई हामीले दिने प्रतिफल पनि मीठो नै हुनेछ ।
No comments:
Post a Comment