Tuesday, March 26, 2013

विदेशी मुद्रा पलायनका छिद्रहरू



गतवर्ष नेपाल आउने पर्यटकको सङ्ख्यामा राम्रै वृद्धि भयो, जुन सकारात्मक हो । तर, त्यसमा खुशी हुनुपर्ने कुनै कारण छैन । किनभने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रको आम्दानी गतवर्षको तुलनामा स्वाट्टै घटेको छ । चालू आवको पहिलो ७ महीनाको तथ्याङ्कअनुसार भुक्तानी सन्तुलनमा पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्ने ‘ट्राभल’ शीर्षकको आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ प्रतिशतले घटेको छ । अघिल्ला दुई आर्थिक वर्षमा पनि यही प्रवृत्ति थियो । नेपाल आउने पर्यटकले खर्च नै नगरेकाले आम्दानी घटेको भन्ने कुरामा सहमत हुन सकिने अवस्था छैन । किनभने नेपालमा आउने पर्यटकको सङ्ख्या र औसत बसाइ, होटलको भाडा र हवाई टिकटको मूल्यसमेत बढेको छ । ट्राभल एजेन्सीले बेच्ने प्याकेजको मूल्यसमेत घटेको छैन । त्यसैले पर्यटन क्षेत्रबाट हुने आम्दानी घटेको नभएर त्यो रकम अन्यत्रै गएको प्रस्ट हुन्छ । पर्यटन क्षेत्रबाट भएको आम्दानीको सानो अंश मात्रै होइन, आम्दानी प्रणालीमा देखिएकै आकारमा बाहिर रहेको तथ्यहरूको विश्लेषणबाट देखिन्छ । यसको सोझो अर्थ छ– त्यो कि त विदेश पलायन भइरहेको छ या अनौपचारिक व्यापारमा खर्च भइरहेको छ । चालू आर्थिक वर्ष शुरू हुनेबित्तिकै नेपाली बजारमा नगद डलरको तीव्र अभाव देखियो । यसले पनि नेपालबाट नगद डलर पलायन भइरहेको पुष्टि गर्छ । पछिल्लो समयमा विशेषगरी चीनबाट ठूलो मात्रामा सुन तस्करी भएर नेपाल भित्रिरहेको छ र त्यसैका लागि ठूलो मात्रामा अमेरिकी डलर खर्च भएको छ । यसरी विदेशी मुद्रा पलायन भएको वा अनौपचारिक क्षेत्रमा गएको थाहा पाइरहँदा पनि सरकारका सम्बन्धित निकायहरू र विशेषगरी नेपाल राष्ट्र बैङ्क कानमा तेल हालेर बस्नु बुझिनसक्नु छ ।
सरकारी तथ्याङ्कअनुसार आव ०६६÷६७ मा पर्यटन क्षेत्रबाट ३७ करोड ७१ लाख अमेरिकी डलर (अहिलेको विनिमयदरअनुसार करीब ३२ अर्ब ८० करोड रूपैयाँ) आम्दानी भएको छ । आव ०६८÷६९ मा सो रकम घटेर ३६ करोड ८७ लाख (३२ अर्ब रूपैयाँ)मा झरेको छ । आव ०६८÷६९ मा पर्यटक आगमनमा १९ प्रतिशत वृद्धि भएको छ । सोभन्दा अघिल्लो वर्ष २१ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको थियो । यसलाई सामान्य हिसाबमा हेर्दा विगत २ वर्षको अवधिमा पर्यटन क्षेत्रबाट हुने आम्दानी कम्तीमा ४० प्रतिशतले बढ्नुपर्ने हो । यी २ वर्षमा पर्यटकले प्रयोग गर्ने सबै प्रकारका सेवाको मूल्य बढेको सम्बन्धित व्यवसायीहरूको भनाइ छ । यस अर्थमा पर्यटकले गर्ने खर्च घट्यो भन्नु तर्कसङ्गत हुँदैन । अर्कातिर, नेपाल आउने पर्यटक सस्ता होटलमा मात्रै बसे, कम खर्च गरे भन्ने अवस्था पनि छैन । किनभने महँगा होटलहरूको अक्युपेन्सी दर घटेको छैन र महँगा प्याकेज बेच्ने ट्राभल एजेन्सीले पनि सस्तोमा काम गरेका छैनन् । सामान्य रूपमा अघिल्ला २ वर्षमा भएको पर्यटकको आगमन वृद्धि र पर्यटन क्षेत्रमा भएको मूल्यवृद्धि हिसाब गर्दा पर्यटन क्षेत्रबाट हुने आम्दानीमा करीब २६ करोड डलर (२२ अर्ब ६२ करोड रूपैयाँ) बढ्नुपर्ने हो । अर्कातर्फ नेपाली रूपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर भइरहेको छ । अमेरिकी डलरसँग औसत विनिमयदर अघिल्ला आवहरू ०६६÷६७ र ०६७÷६८ मा ७२ रहेकोमा ०६८÷६९ मा ८१ पुगेको छ । यस अवधिमै १ अमेरिकी डलरबराबर ९० रूपैयाँसम्म पुगेको थियो । यस हिसाबबाट पनि पर्यटन क्षेत्रबाट हुने आम्दानी घट्नु अचम्मलाग्दो विषय हो ।
पर्यटनको माध्यमबाट नेपाल भित्रिएको विदेशी मुद्रा भौतिक र अभौतिक दुवै रूपमा बाहिरिइरहेको छ । पछिल्लो समय राजनीतिक र अन्य वर्गबाट उदाएका नवधनाढ्यहरूले आफूले अवैध तरीकाले कमाएको रकम अमेरिकी डलरमा रूपान्तर गरी भौतिक रूपमै विदेश पु¥याएको उच्च सरकारी अधिकारीहरू नै स्वीकार गरिरहेका छन् । पङक्तिकारसँगकै अनौपचारिक कुराकानीमा एक उच्च सरकारी अधिकारीले ‘ब्रिफकेशका ब्रिफकेश अमेरिकी डलर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै बाहिरिएको’ बताएका थिए । अवैधानिक रूपमा नेपालमा कमाएको रकम यहाँ असुरक्षित ठान्नेहरूले रकम पठाउनु स्वाभाविक हो । दोस्रो– नेपालमा लगानीको वातावरण बिग्रँदै जाँदा यहाँबाट पूँजी पलायन भइरहेको छ भन्ने त सबैले स्वीकार गरेकै हो । नेपाली उद्योगी व्यवसायीहरूले घोषित वा अघोषित रूपमा भारत, थाइल्याण्ड, भियतनाम, बर्मा, भुटानलगायत देशमा लगानी गरेका छन् । वास्तवमा यो कुरा नीतिनिर्माता र कानून कार्यान्वयन गर्ने निकायहरूबाट छिपेको छैन । तर पनि त्यसलाई रोक्न कुनै पहल हुन सकेको छैन । यसरी मुलुकबाट पूँजी पलायन भइरहँदा पनि कुनै कदम चाल्न नसक्नुमा नेपाल राष्ट्र बैङ्कलाई दोषी देखाउन सकिएला । तर, उसले चाहेर मात्रै पनि पूँजी पलायन रोकिने अवस्था छैन । त्यसैले यस विषयमा राष्ट्र बैङ्कलाई बिचराबाहेक केही भन्न सकिँदैन । तेस्रो नेपालको बाटो हुँदै भइरहेको सुन तस्करी र आयात व्यापारमा भएको न्यून बीजकीकरण प्रयोजनका लागि पनि प्रशस्त पूँजी पलायन भइरहेको देखिन्छ ।
यसरी नेपालबाट ठूलो मात्रामा रकम बाहिरिनुमा मुख्यतः तीन पक्षको संलग्नता देखिन्छ । पहिलो– पर्यटन व्यवसायी, दोस्रो– मनी चेञ्जरहरू र तेस्रो– सरकार र नेपाल राष्ट्र बैङ्कलगायत सरकारी निकायहरू । पर्यटन व्यवसायी र मनी चेञ्जरहरूले आफूसँग आएको नगद विदेशी मुद्रा बैङ्किङ प्रणालीभित्र नै नल्याउने गरेको नेपाल राष्ट्र बैङ्कलगायतका सरकारी अधिकारीहरूको तर्क छ । यो कुरा सही पनि छ । किनभने औपचारिकभन्दा अनौपचारिक क्षेत्रमा प्रिमियम विनिमयदर पाइन्छ भने उनीहरूले जतिसक्दो धेरै अनौपचारिक क्षेत्रमै कारोबार गर्छन् । दोस्रो, पछिल्लो समय अधिकांश पर्यटकले कार्डमार्फत भुक्तानी गरेको रकम बैङ्किङ प्रणालीमा आउनुपर्नेमा त्यसो भइरहेको छैन । यसले नेपाली पर्यटन व्यवसायीले विदेशी बैङ्कमा खाता खोलेका छन् र त्यसरी आउने आम्दानी सोही बैङ्कमा जम्मा गर्छन् भन्ने प्रशस्त आधार छन् । यति मिहीन ढङ्गले सोच्ने काम नेपाल राष्ट्र बैङ्कबाट आजसम्म नहुनु पनि उदेकलाग्दो विषय बनेको छ । नेपाल राष्ट्र बैङ्कलगायतका सरकारी निकायहरूको यस किसिमको व्यवहारले कि त उनीहरू यस्ता क्रियाकलापलाई प्रोत्साहन गरिरहेका छन्, कि त लाचार बनेका छन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ । यस्तो अवस्थामा कानून कार्यान्वयन गर्न नसक्ने सरकारी निकायहरूको खासै औचित्य देखिँदैन । होइन भने विद्यमान ऐनकानूनमा संशोधन गर्नु आवश्यक देखिन्छ ।
सबैलाई थाहा भएकै कुरा हो, पैसाले थप मूल्य सृजना गर्न खोज्छ । त्यसरी पैसाको मूल्य बढाउने दुइटा बाटा हुन्छन्– एउटा वैध, अर्को अवैध । जब वैध रूपमा हुने आर्जनभन्दा अवैध बाटोबाट हुने आर्जन बढी हुन्छ, त्यसबेला मानिसहरू अवैध बाटोतिर आकर्षित हुन्छन् । अहिले नेपालमा भइरहेको पनि त्यही हो । एउटा मनी चेञ्जरले आफूसँग आएको पैसा प्रणालीभित्र ल्याउँदा वा वैध बाटोमा लगाउँदा १ डलरको ८७ रूपैयाँ मात्रै आर्जन गर्छ तर अनौपचारिक रूपमा विक्री ग¥यो भने ९० रूपैयाँ पाउँछ भने उसले ९० रूपैयाँ नै आर्जन गर्न खोज्छ । त्यस्तै, एउटा ट्राभल एजेन्सीले आफूसँग रहेको रकम बैङ्क वा मनी चेञ्जरकहाँ लैजानुभन्दा चीनबाट सामान आयात गर्ने व्यापारीलाई दिँदा बढी लाभ हुन्छ भने उसले त्यसै गर्छ । एउटा लगानीकर्ताले नेपालमा लगानी गर्दा त्यसबाट नाफा हुनेभन्दा डुब्ने सम्भावना हुन्छ भने उसले अन्तै लगानी गर्न चाहन्छ । एउटा व्यक्तिमा आफ्नो सम्पत्ति भोलिका दिनमा सरकारले लिइदिन्छ कि भन्ने डर उत्पन्न भयो भने उसले कसैगरी पनि त्यसलाई विदेशमा पु¥याउन खोज्छ । पर्यटन क्षेत्रबाट नेपालमा आर्जन भएको विदेशी मुद्रा कहाँ गयो भन्ने प्रश्नको उत्तर पनि यही नै हो । र, यस किसिमका क्रियाकलापले मुलुकमा अनौपचारिक अर्थतन्त्रलाई बढाइरहेको छ । अहिल्यै पनि औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्रको आकार ठूलो रहेको विशेषज्ञहरू बताउँछन् । मौद्रिक नीतिका लक्ष्यहरू असफल हुनुले पनि यसलाई पुष्टि गर्छ । यस्ता क्रियाकलापको निरन्तर वृद्धिले वित्तीय र मौद्रिक सङ्कट त सृजना हुन्छ नै, मुलुकको अर्थतन्त्र नै असफल हुने दिन पनि नआउला भन्न सकिन्न ।

No comments:

Post a Comment