नेपालमा नोट निष्कासन हुन लागेको ६७ वर्ष भएको छ । पहिलोपटक विसं २००२ असोज १ गते सदर मुलुकीखानाले नोट निष्कासन गरेको थियो । तर, मुलुकीखाना केन्द्रीय बैङ्क थिएन र उसले निष्कासन गर्ने नोटमा खचाञ्जीले सही गर्थे । नेपालमा २०१३ सालमा केन्द्रीय बैङ्कका रूपमा नेपाल राष्ट्र बैङ्कको स्थापना भएपछि उसैले नोट निष्कासन गर्न थाल्यो । नेपाल राष्ट्र बैङ्कबाट नोट निष्कासन गराउन र नेपालमा नेपाली नोटको प्रचलन ल्याउन पहिलो गभर्नर हिमालयशमशेर जबराको निकै महत्वपूर्ण योगदान छ । उनै जबरा सँग राष्ट्र बैङ्कले निष्कासन गरेका नोटका विशेषता, नेपाली नोट प्रचलनमा ल्याउने क्रममा भएका अप्ठ्यारा तथा नेरु–भारु विनिमयदर निर्धारणलगायतका विषयमा आर्थिक अभियानका जनार्दन बरालले गरेको कुराकानीको सार :
प्रधानमन्त्री बीपी कोइरालाले नै १ सय भारूबराबर १ सय ६० नेरू हुने गरी पूर्ण परिवत्र्य हुनेछ भन्ने घोषणा गर्नुभयो । त्यस विषयमा कसैलाई थाहा थिएन ।
- भारूभन्दा हाम्रो मुद्रा के कम भनेर केही अर्थशास्त्रीले १ सय १ रुपैया“ ५५ पैसा प्रस्ताव गरे र त्यो घोषणा गरियो । तर, त्यसले काम गरेन ।
- हाम्रो अर्थतन्त्र स्थिर भएको बेला, जनताले पत्याएको सरकार रहेको बेला, निर्यात क्षमता बढेको बेला हाम्रो मुद्राको पुनर्मूल्याङ्कन गर्नुपर्छ । तर, म स्थिर विनिमयदरकै पक्षमा छु ।
- नोटमा अर्को एउटा गोप्य मार्क राखिएको हुन्छ, जुन राष्ट्र बैङ्कलाई मात्रै थाहा हुन्छ । प्रेसले त्यो मार्क गभर्नरलाई मात्रै पठाउँछ, उसले नोट विभागलाईदिएको हुन्छ ।
- सस्तोमा छाप्न गुणस्तरमा सम्झौता गरिएको कारण नोटमा धेरै त्रुटि देखिन थालेका छन् ।
नेपाल राष्ट्र बैङ्क स्थापनाको एउटा प्रमुख उद्देश्य नै नोट निष्कासनको सुप्रबन्ध गर्नुथियो । यो विषय नेपाल राष्ट्र बैङ्कको प्रस्तावनामा नै उल्लेख थियो । त्यसअघि पनि सदर मुलुकीखानाले नोट निष्कासन गर्दै आएको थियो । त्यसबेला भारतको नासिक भन्ने ठाउँको सेक्युरिटी प्रेसमा नोट छापिन्थ्यो । भारत नेपालको छिमेकी राष्ट्र, त्यहाँ नोट छाप्दा उसले जति छापेर पठाए पनि त भयो नि, यो जोखीमपूर्ण हुने भयो भन्ने सल्लाह भयो । त्यसो हुँदा हामीले भित्रभित्रै अबदेखि नोट भारतमा नछापेर अन्यत्रै छापौं भन्ने सल्लाह गर्यौ । त्यसपछि दुई–तीन राष्ट्रका केन्द्रीय बैङ्कसँग तिमीहरू नोट कहाँ छाप्छौ भनेर सोध्यौं । उनीहरूले बेलायतका २–३ ओटा कम्पनीको नाम दिए । अन्य केही कम्पनीको पनि नाम आयो । हामीले ती सबैलाई चिठी लेखेर पठायौं । तीमध्ये २–३ ओटा कम्पनी यहाँ आए र उनीहरूले नमूना पनि देखाए । त्यसमध्ये बेलायतको डिलारु कम्पनी उत्कृष्ट भयो र हामीले उसलाई छनोट ग¥यौं । त्यसपछि नोटमा कुनकुन सम्पदा राख्ने, डिजाइन कस्तो गर्ने आदि विषय फाइनल ग¥यौं र उसैको प्रेसमा हामीले नोट छाप्यौं । डिलारुमा छापेका नोटहरू कागज, आकार तथा डिजाइनका हिसाबले पनि गुणस्तरीय भए र त्यस समयमा निकै लोकप्रिय पनि । ती नोटले नेपालका सम्पदाहरूलाई पहिलेभन्दा बढी नै प्रतिनिधित्व गरे ।
त्यसबेला नगद छाप्दा सुरक्षणबापत केके राखिन्थ्यो ? कति मात्रामा राखिन्थ्यो ?
त्यसअघि सरकारको जमानीमा कुनै पनि सुरक्षण नराखीकन नोट छाप्ने प्रचलन थियो । तर, नोट निष्कासन गर्दा सुरक्षण राख्नुपर्छ । त्यसो हुँदा हामीले नोट निष्कासन गर्दा सुरक्षण राख्नुपर्ने व्यवस्था पहिलोचोटि गर्यौ । सुरक्षण राख्दा ५० प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा, विदेशी बण्ड आदि राख्नुपर्ने र ५० प्रतिशत अन्य धरौटी राख्नुपर्ने गरी हामीले लालमोहर लगाउन लगायौं ।
विदेशी मुद्रा तथा बण्डलाई सुरक्षण मान्ने प्रचलन त्यही बेला थियो ?
हो, थियो । हामीले त्यहीबेला पहिलोपटक त्यस्तो व्यवस्था शुरू गरेका थियौं ।
सदर मुलुकीखानाले १, २, १० र १०० को नोट निष्कासन गरेको थियो, नेपाल राष्ट्र बैङ्कले नोट छाप्ने बेलामा अन्य दरका नोट पनि प्रचलनमा आइसकेका थिए कि ?
त्यसअघि अन्य नोट आएका थिएनन् । हामीले त्यसबेला ५ रुपैयाँका नोट थप गर्यौ । पछि २ रुपैयाँको नोट पनि आयो तर त्यो कहिले आयो, मिति भने याद छैन ।
सदर मुलुकीखानाबाट निष्कासित नोटमा राजा त्रिभुवनको श्रीपेच लगाइएको तस्वीर छ, शुरूमा महेन्द्रले नेपाली राष्ट्रिय पोशाक लगाएको फोटो छ, पछि सैनिक पोशाक लगाएको छ । त्यसपछिका राजाहरूको तस्वीर भने फेरि श्रीपेच लगाएको नै छ, किन यस्तो भयो, दरबारको इच्छामा कि अन्य कुनै कारण छ ?
राणाशासनको अन्त्य भएर प्रजातन्त्र आएको अवस्थामा महेन्द्र महाराजधिराजलाई पनि म पनि प्रजातान्त्रिक मानिस हुँ भन्ने देखाउनु परेको थियो । त्यसो हुँदा उहाँकै इच्छाअनुसार नेपाली राष्ट्रिय पोशाक (दौरा सुरुवाल र ढाका टोपी) लगाएको तस्वीर समावेश गरियो । त्यो तस्वीर डिलारुकै मानिसहरूले राजदरबारमै गएर खिचेका हुन् । पछि उहाँले कु गरेपछि उहाँको वास्तविक चरित्र थाहा भयो । उहाँले कू गरिसकेपछि सैनिक पोशाक लगाएको तस्वीर समावेश गरेर नोट निष्कासन भयो । उहाँले त्यो रुचाइबक्स्यो होला ।
नेपाली नोटहरूमा मोरु लेख्ने चलन थियो । नेपाल राष्ट्र बैङ्कले छापेको पहिलो नोटमा पनि सोही उल्लेख छ । त्यसको अर्थ के हो ?
त्यसबेला नेपालमा द्वैध मुद्रा प्रचलनमा थियो– नेपाली र भारतीय रुपैयाँ । नेपाली रुपैयाँलाई मोरु (मोहर रुपैयाँ) भनिन्थ्यो, भारतीयलाई कमरु (कम्पनी रुपैयाँ) भनिन्थ्यो । इष्ट इण्डिया कम्पनीले निकाल्ने हुनाले त्यसलाई कम्पनी रुपैयाँ (कंरु) भनिएको थियो, पछि त्यसलाई भारतीय रुपया भन्न थालियो । नेपाल राष्ट्र बैङ्क २०१३ सालमा स्थापना भएको हो । २०१७ सालमा गएर मात्रै नेपाली रुपैयाँ मात्रै यहाँ प्रचलनमा आउने व्यवस्था गरियो । त्यसबेला सम्म रुपैयाँ भन्दा ‘मोरु’ कि ‘कंरु’ भन्ने छुट्ट्याउनुपथ्र्यो ।
नेपालभरि विशेषगरी तरार्ईमा नेपाली रुपैयाँ प्रचलनमा ल्याउन कत्तिको अप्ठ्यारो भयो ?
साह्रै नै गाह्रो भयो । अहिलेसम्म पनि नेपाल राष्ट्र बैङ्कको सबैभन्दा ठूलो सफलता नै त्यसैलाई मानिएको छ । तराई क्षेत्र भारतसँग सिमाना जोडिएको छ । त्यसबेला पूर्वपश्चिम राजमार्ग बनेको थिएन, बाटोघाटो केही थिएन । त्यसो हुँदा काठमाडौंबाट विराटनगर जाँदा पनि भारतीय बाटो भएर जानुपथ्र्यो, बर्दिया, कैलाली, कञ्चनपुर जानु परे पनि त्यसै गर्नुपथ्र्यो । धनकुटा, भोजपुर, विराटनगरलगायतका ठाउँको बन्दव्यापार जोगबनी बजारमा हुन्थ्यो । भैरहवा क्षेत्रको व्यापार व्यवसाय गोरखपुरमा हुन्थ्यो । वीरगञ्जलगायत मध्यक्षेत्रको रक्सौल, मोतीहारी, मुजफ्फपुरमा हुन्थ्यो । तराईका मानिसहरूको व्यापार व्यवसाय, किनमेल भारतीय बजारमा हुने, उताका मानिसहरू पनि यता आउने भएको हुनाले उनीहरूको चलनचल्तीमा भारतीय नोट नै थियो । त्यस्तो अवस्थामा अबदेखि भारतीय नोट नचलाउनू, नेपाली नोटमात्रै चलाउनू भनेर सरकारले घोषणा गर्यो भने पनि त्यो हुन सक्ने अवस्था थिएन । तर, महाराजाधिराजले नेपालमा नेपाली मुद्रा नै चलनचल्तीमा हुनुपर्छ भन्ने आशयले नेपाल राष्ट्र बैङ्क स्थापना गरिबक्सेको थियो । अब त्यसका लागि के गर्न सकिन्छ भन्ने विषयमा हामीले अध्ययन ग¥यौं । त्यसबाट हामी के निष्कर्षमा पुग्यौं भने नेपाली रुपैयाँको प्रचलन त्यतिबेला सहज रूपमा गर्न सकिन्छ, जतिबेला नेपालीले भारतमा किनमेल गर्न जानुपरेमा, बिहाबारीमा, यात्रा गर्दा बडो सहजताका साथ नेरूबाट भारू, भारूबाट नेरू सटही गर्न सकिने व्यवस्था हुन्छ ।
त्यसो भयो भने नेपाली नागरिक भएको नाताले उनीहरूले नेपाली रुपैयाँ चलन गर्न मान्छन् । होइन भने सरकारको बलले मात्रै त्यसो गर्न सकिँदैन भन्ने निष्कर्षमा हामी पुग्यौं । त्यसका लागि पूर्व झापा–इलामदेखि पश्चिम कैलाली कञ्चनपुरसम्म बैङ्क, शाखा, उपशाखा, सटही काउण्टर आदि खोलेर सटही गर्ने सुविधा उपलब्ध हुनुपथ्र्यो । दोस्रो सटही गर्दा कुन दरमा गर्ने भन्ने पनि तय गर्नुपथ्र्यो । नेपाली र भारतीय मुद्राको पूर्ण परिवत्र्यताको अवस्थाका लागि पनि एउटा दर निर्धारण गर्नुपथ्र्यो । यसरी विनिमयदर निर्धारण बजारको माग र आपूर्तिका आधारमा गरिनुपथ्र्यो । तर, त्यसबेला बजारमा भारूको माग कति छ, आपूर्ति कति भइरहेको छ, त्यो थाहा पाउन निकै मुश्किल थियो । बाटोघाटोको व्यवस्था थिएन, राष्ट्र बैङ्क नै भर्खर स्थापना भएको थियो, यसका शाखा हुने कुरै भएन । शाखा, उपशाखा स्थापना गर्न र देशभरि भारूको माग र आपूर्तिको अवस्था कति छ भनेर तथ्याङ्क सङ्कलन गर्नै हामीलाई २ वर्ष लाग्यो । त्यसरी डाटा आइसकेपछि त्यसको विश्लेषणबाट १ सय भारूको १ सय ६० रुपैयाँ कायम गरियो । तर, त्यो कसैलाई थाहा दिइएको थिएन । राष्ट्र बैङ्कको अनुसन्धान विभाग गोविन्दप्रसाद लोहनीले हेर्नुहुन्थ्यो । हामीले बैठक बसेर त्यो विनिमय दर तय गर्यौ र तत्कालीन अर्थमन्त्री सुवर्णशमशेरसँग प्रस्तुत गर्यौ । उहाँ पनि सहमत हुनुभयो ।
तर, पुनः अर्को चुनौती आइलाग्यो । कैलालीदेखि झापासम्म भारू र नेरूको माग र आपूर्तिका आधारमा नगद पुर्याउनुपर्ने थियो । त्यसरी पैसा पठाउनै १ वर्ष लाग्यो । तर, त्यसबेला नेरूप्रति मानिसहरूलाई विश्वास थिएन । त्यस्तो अवस्थामा खुला रूपमा विनिमय गर्ने भनेपछि मानिसहरूले उनीहरूसँग जति नेरू छ, त्यो सबैलाई भारू बनाउन ल्याए भने माग धान्न सकिन्छ त भन्ने तर्क आयो । त्यसबेला बजारमा निष्कासन भएका नोट र सिक्काको हिसाब गर्दा ३ करोड रुपैयाँजति निस्कियो । त्यसबेला हामीसँग ६–७ करोड भारू थियो, जसले माग धान्न सक्थ्यो । त्यसैबेला अर्को के समस्या निस्कियो भने हामीले अब नेपाली रुपैयाँ मात्रै प्रचलनमा रहने भन्ने घोषणा गरेको १०–१५ दिनमा कैलाली वा विराटनगरमा नगद रकम सिद्धियो भने कसरी आपूर्ति गर्ने ? काठमाडौंबाट त्यहाँ पैसा पुर्याउनै १ महीना लाग्थ्यो । त्यसो भएपछि नेपाली रुपैयाँमात्र प्रचलनमा ल्याउन सकिँदैन कि भन्ने निष्कर्षमा पुगियो । नोट निष्कासनका लागि सुरक्षण गरिसकेको अवस्थामा जथाभावी नोट बाँड्न मिल्दैनथ्यो, यति नोट निष्कासन गर्ने भन्ने सरकारको निर्णयभित्रै बसेर काम गर्नुपथ्र्यो । अब के गर्ने भन्ने कुरा सोच्दै जाँदा एक दिन मेरो मनमा एउटा उपाय निस्कियो । त्यो भनेको हरेक ठाउँमा अनिष्कासित नेपाली नोटहरूको स्टक राख्ने, त्यहाँ नेपाली नोट सकियो भने त्यही स्टकबाट निकाल्ने । बैङ्क नोट सकियो भने बैङ्किङ विभाग र नोट निष्कासन विभागको हिसाब एकै ठाउँ राख्ने, अनि कैलालीमा नोट निष्कासन भएको निर्णय यहाँबाट गर्यो अनि कैलालीमा यति नोट हामीले निष्कासन गर्यौ, त्यो चलाउनू भन्ने तार पठाउने निर्णय गरियो । त्यसपछि केन्द्रको बैङ्किङ विभागले त्यो नोट निष्कासनको हिसाबमा हालिदिने व्यवस्था गरियो । त्यसो भएपछि यहाँबाट नोट पठाउनु परेन ।
२०१६ साल चैत मसान्तमा अर्थमन्त्री सुवर्णशमशेर राजासँग विदेश भ्रमणमा हुनुहुन्थ्यो । प्रधानमन्त्री बीपी कोइरालाले नै अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो । हामीले उहाँलाई यो कुरा सुनायौं । उहाँ पनि यो विषयमा सहमत हुनुभयो र सोही दिन संसद्मा ‘भोलिदेखि नेपालमा नेपाली रुपैयाँ मात्रै कानूनी रूपमा ग्राहय हुनेछ । र, १ सय भारूबराबर १ सय ६० नेरू हुने गरी पूर्ण परिवत्र्यता हुनेछ,’ भन्ने घोषणा गर्नुभयो । यस विषयमा कसैलाई थाहा थिएन । एकैपटक यस्तो निर्णय आउँदा निकै ठूलो विरोध पनि भयो । धेरैले यसलाई हुनै नसक्ने कुरा पनि भने तर त्यसले काम गर्यो ।
त्यसबेला पनि स्थिर विनिमयदर कायम गरिएको थियो हैन त ?
हो ।
भारतीय केन्द्रीय बैङ्क सँग विनिमयदरका सम्बन्धमा अनुमति लिनुपर्यो ?
परेन ।
२०२३ सालमा आएर नेपाली रुपैयाँको पुनर्मूल्याङ्कन गरी १ सय १ रुपैयाँ ५५ पैसा बनाइएको रहेछ नि ? किन त्यसो गरियो ?
म ५ वर्षका लागि गभर्नर भएको हो । राजाले मलाई नियुक्त गर्दा भारू र नेरूको विनिमयदर निर्धारण गर्ने जिम्मेवारी पनि दिनुभएको थियो । जुन काम मैले सम्पन्न गरें । तर, उहाँलाई मेरो पालामा विनिमयदर निर्धारण नगरेर बीपीको पालामा गर्यो भन्ने परेजस्तो लाग्छ । मेरो त काङ्ग्रेसी पृष्ठभूमि पनि थियो । यसलाई के खोट लगाउने भनेर निहुँ बनाउने क्रममा उहाँले हिमालयशमशेरले विनिमयदर त निर्धारण गर्यो तर नेपाली रुपैयाँलाई अवमूल्यन गरेर गर्यो भनिदिनुभयो । भारूभन्दा हाम्रो मुद्रा के कम भनेर केही अर्थशास्त्रीहरूले १ सय १ रुपैयाँ ५५ पैसा प्रस्ताव गरे र त्यो घोषणा गरियो । तर, त्यसले काम गरेन ।
बीचमा धेरैचोटि तलमाथि भएर अहिले भारू सँग नेरूको विनिमयदर १ सय ६० नै कायम भएको छ । यो ठीकै छ जस्तो लाग्छ ?
ठीक छ जस्तो लाग्दैन । यो विनिमयदर त्यसबेलाको माग र आपूर्तिका आधारमा तोकिएको हो । अहिले अध्ययन गरियो भने कुन दर निस्केला म भन्न सक्दिनँ तर मेरो विचारमा १०० भारूको १ सय ६० नेरूबाट बढाउनुपर्छ । त्यसैले यसमा समीक्षा गर्नुपर्छ । तर, अहिले नेपालको निर्यात घट्दो छ, आयात बढ्दो छ । त्यसैले यस्तो अवस्थामा मुद्राको पुनर्मूल्याङ्कन गर्नु उपयुक्त हुँदैन । हाम्रो अर्थतन्त्र स्थिर भएको बेला, जनताले पत्याएको सरकार रहेको बेला, निर्यात क्षमता बढेको बेला हाम्रो मुद्राको पुनर्मूल्याङ्कन गर्नुपर्छ । तर, म स्थिर विनिमयदरकै पक्षमा छु ।
खजाञ्जीले सही गरेको नोटमा ‘श्री नेपाल सरकार, यसको रुपैयाँ भुक्तान माग्न आएमा सदर मुलुकी खानाबाट मोरू यति रुपैयाँ तुरुन्त पाउनेछ’ भन्ने उल्लेख छ । तर, नेपाल राष्ट्र बैङ्कबाट जारी नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तान माग्न आएमा नेपाल राष्ट्र बैङ्कबाट मोरू पाँच तुरुन्त पाइनेछ ।’ उल्लेख छ । यो भाषाको मस्यौदा कसले गर्यो ?
राष्ट्र बैङ्कले नै गरेको हो ।
त्यो भाषाको अर्थ के हुन्छ ?
यो साधारण नै छ । नेपाल राष्ट्र बैङ्कले नोट छाप्दा ‘नेपाल सरकारको जमानतप्राप्त’ राखियो, जुन नराखेको भए पनि हुन्थ्यो । तर, त्यसबेला अर्थ मन्त्रालयसँग छलफल गर्दा त्यो राख्नुपर्छ भन्ने कुरा आयो । त्यो किनभने त्यसबेला राष्ट्र बैङ्क भर्खर स्थापना भएको थियो । यसप्रति सर्वसाधारणको विश्वास पनि आर्जन भइसकेको थिएन । केन्द्रीय बैङ्क भन्ने ठूलो निकाय हो भन्ने मानिसलाई थाहै थिएन । त्यसो हुँदा सर्वसाधारणको विश्वास आर्जन गर्न नेपाल सरकारको जमानत प्राप्त लेखिएको हो ।
नोटमा केके तस्वीर राख्ने कुरा कसले फाइनल गर्यो ? त्यसको डिजाइन कसले गरेको थियो ?
त्यो नेपाल राष्ट्र बैङ्कले नै गरेको हो । तर, त्यसमा अर्थ मन्त्रालयसँग पनि छलफल हुन्थ्यो । ‘असतो मा सद्गमय’ भन्ने नेपाल राष्ट्र बैङ्कको लोगोचाहिँ बालकृष्ण समकी छोरी ...... ले तयार पार्नुभएको हो । कुनकुन सम्पदाहरू नोटमा राख्ने, डिजाइनिङ कस्तो गर्ने भन्ने विषयमा हामीले सुझाव दियौं र डिलारु कम्पनीले नै त्यसलाई अन्तिम रूप दियो ।
त्यसबेला नोटमा सेक्युरिटी फिचरहरू केके राखिएको थियो ?
नोटमा किरिमिरी–किरीमिरी हुने किसिमका धर्काहरू राखिएका थिए । अहिले त कम्प्युटरको जमानामा जे पनि नक्कल गर्न सकिन्छ तर त्यसबेला त्यो किरिमिरी नक्कल गर्न सकिँदैनथ्यो । नोटमा अर्को एउटा गोप्य मार्क राखिएको हुन्छ, जुन राष्ट्र बैङ्कलाई मात्रै थाहा हुन्छ । प्रेसले त्यो मार्क गभर्नरलाई मात्रै पठाउँछ, उसले नोट विभागलाई दिएको हुन्छ । पछि नक्कली कि सक्कली छुट्ट्याउनुप¥यो भने त्यही मार्क हेरेर गरिन्छ ।
अहिले र त्यसबेला प्रयोग गर्ने सेक्युरिटी फिचरमा कत्तिको फरक देख्नुहुन्छ ?
त्यति याद गरेको छैन । तर, उस्तै होला । कम्प्युटरमा डिजाइन गर्ने क्रममा सानो संकेत राख्ने त हो । अर्को ‘सेक्युरिटी थ्रेड’ भन्ने राखिएको हुन्छ, त्यो कपी गर्न गाह्रो हुन्छ ।
नोट छाप्ने प्रक्रिया त्यसबेलाको र अहिलेकोमा के फरक छ ?
बेलायतको कम्पनीमा नोट छाप्दा निकै महँगो पर्छ । त्यसो हुँदा राष्ट्र बैङ्कका अधिकारीहरूले कमिशन खाए कि भन्ने प्रश्न उठ्न सक्छ । थाइल्याण्डमा ३–४ जना गभर्नरले कमिशन प्रकरणकै कारण राजीनामा दिनुपरेको छ । तर, हाम्रोमा नोट छपाइमा कमिशनको प्रसङ्ग अहिलेसम्म त्यति आएको छैन । तैपनि राष्ट्र बैङ्कका अधिकारीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग अति नै डराउँछन् । त्यसो हुँदा सस्तोमा छाप्ने कम्पनीलाई नोट छाप्न दिनुपर्यो । यसो गर्दा इण्डोनिशियाको कम्पनीले नोट छापिरहेका छन्, जसका कारण नोटको गुणस्तर कमजोर भएको छ । नोट छपाइमा धेरै त्रुटि देखिन थालेका छन् । गुणस्तरमा सम्झौता गरिएका कारण यसो भएको हो ।
सिक्का त नेपालमै मिण्ट (टकमरी) गरिदै आएको छ नि हैन ?
पहिला सरकारले नै सिक्का मिण्ट गथ्र्यो । जो सरकारमा छ, शक्तिमा छ, त्यसैले सिक्का मिण्ट गरेर फाइदा कमाउने प्रचलन थियो । १ रुपैयाँको सिक्का मिण्ट गर्दा ८० पैसा खर्च लाग्यो भने माथि बस्नेलाई त्यो २० पैसा फाइदा हुन्थ्यो । तर, पछि सिक्काको टकमरी गर्ने काम पनि राष्ट्र बैङ्कले नै गर्न थाल्यो ।
राष्ट्र बैङ्क स्थापना भएदेखि अहिलेसम्म हेर्दा नोटका सम्बन्धमा कस्ताकस्ता आयाम देख्नुभएको छ ?
राष्ट्र बैङ्क स्थापना हुनुअघिसम्म अधिकांश कारोबार साटासाट प्रणाली (बार्टर)बाट हुन्थ्यो । गाउँघरमा ६०–७० प्रतिशतजति कारोबार बार्टरबाट नै हुन्थ्यो । बजारतिर सिक्काबाट पनि कारोबार हुन्थ्यो । पछि सिक्कालाई नोटले प्रतिस्थापन गर्यो । अहिले आएर क्रेडिट कार्ड आएको छ । यसले नोटलाई पनि प्रतिस्थापन गर्ला कि भन्ने डर छ ।
No comments:
Post a Comment